कविता देऊ हक बराबरी !



बल राम टिमल्सिना

हामीले नि जोगाएको देश हो यो मरी मरी !
न त  घटी न त  बढी  देऊ  हक   बराबरी !!

हामी उङ्छौँ असारमा खेतका यी गह्रा गह्रा 
हाम्रै मेहनतले बन्छ संसार यो हराभरा 
हाम्रा पसिनाले भिज्छ हामी बस्ने सिङ्गै धरा
तर किन भयो हाम्रो जिन्दगानी कठैवरा ?

हामीले नि जोगाएको सभ्यता हो मरी मरी 
न त घटी न त बढी दाबी गर्छौँ बराबरी !

हामी सुते अल्छी गरी तिम्रो भान्सा बन्द हुन्छ 
हामी बटारियौँ भने तिम्रो फुर्ती मन्द हुन्छ 
हामी विना भोकै नाङ्गै बन्छ  तिम्रो जिन्दगानी
तर किन भन्छौ मान्छे परै बस तँ न छो पानी ?

हामीले हो स्वर्ग तिम्रो उठाएको मरी मरी 
न त घटी न त बढी बाँड झट्टै बराबरी !

यो देशमा हाम्रो पनि बराबरी हक लाग्छ 
तर हाम्लाई बराबरी मान्न किन धक लाग्छ 
उस्तै रगत उस्तै मासु उस्तै हाँसो उस्तै आँसु
तर किन तिमीभन्दा हामी  चै फरक लाग्छ ?

हिजो सृष्टि बचाएथ्यौं झुकी झुकी मरी मरी  
न त घटी न त बढी हाम्रो हक बराबरी !

जेमा हाम्रो श्रम छैन एकै रत्ति चाहिएन 
तिमीले पनि हाम्रो भाग मेरो भन्न पाइएन
बराबरी श्रम गरौँ भाग लगाऊँ बराबरी 
दुख पनि सुख पनि सबै कुरा बराबरी !

आजसम्म आयौँ हामी सयौँ पटक मरी मरी
अब मर्ने बाँच्ने पालो तिम्रो हाम्रो बराबरी
न त घटी न त बढी तौलिएर बराबरी !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्