उल्झन !



कविता
बलराम तिमल्सिना

अलिकति धानको बिउ छ खोचरामा
बच्चाहरू भोकै छन्
भन्दै छन्-
‘बा बा !
झट्टै कुटेर ल्याउनू न
कत्ति फ्याप्लो खानु
कमसेकम आज त जाउलो खाऊँ  !’
म दुःख र दोधारको दोसाँधमा छु
भएको धानको बिउ मासौँ
र आज बच्चाहरूलाई जाउलो खुवाइदिऊँ
या यसलाई धरतीमा छरौँ 
र बच्चाहरूलाई फ्याप्लो नै खुवाऊँ ?
बच्चाहरूलाई जाउलो खुवाऊँ
बिउ मासिन्छ
बिउ जोगाउन थालौँ
बच्चाहरू रुन थाल्छन्
योभन्दा ठुलो उल्झन 
सायदै पर्ला जिन्दगीमा !
म बच्चाहरूलाई आज रुन दिऊँ
र मङ्सिरमा हँसाऊँ ?
या बेस्सरी हँसाऊँ ऐले
मङ्सिरमा एक थोक होला ?
मलाई बच्चाहरू रोएको दृश्य
संसारमै सबैभन्दा छाती फुट्ने लाग्छ !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्