एजेन्टहरुको भुमरीमा वैदेशिक रोजगार, बिभागभन्दा एजेन्ट शक्तिशाली !



काठमाडौँ ।  गत पुस १४ गते बहराइन पठाउने क्रममा चर्को लागत अशुलीको उजुरी परेपछि  वैदेशिक रोजगार विभागले वसुन्धरा स्थित ग्रोथ प्रोसेस म्यानपावरमा छापा मारेको थियो । सो क्रममा विभागले शुल्क नलिई बहराइन उडाउन निर्देशन दिएपछि वैदेशिक रोजगारमा गएका पाँच जना युवाहरूसँग ६ महिनापछि कम्पनीले तलबबाट पैसा काटिदिएको छ ।

पीडितहरूलाई गत पुसमा काठमाडौँको एक्सिस पार्टनर नेपाल प्रा.लि. म्यानपावरबाट श्रम स्वीकृति निकालेर बादल दंगाली नाम गरेका एजेन्टले प्रदीप भण्डारी भन्ने व्यक्तिलाई प्रयोग गरेर वसुन्धरास्थित ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोईमेन्ट प्रा.लि.बाट २ लाख ६२ हजार नगद सहित असुली गर्दै गर्दा विभागले छापा मारेको थियो । बहराइन जान लागेका पाँच जना कल बहादुर गोले, कालुमान राई, सीमा तामाङ, एम बहादुर सुनार र सुशील थिङसँग १ लाख ३० हजारका दरले रकम मागिएको थियो । जसमध्ये ५०/५० हजार उनीहरूले एजेन्ट दंगालीलाई अग्रिम दिइसकेका थिए । पीडितहरूले होटेलमा तिर्न बाँकी पैसा र एयरपोर्टसम्म पुग्ने पैसा समेत नभएको भन्दै बाँकी पैसामा प्रतिव्यक्ति १/१ हजार छुट माग्दा पनि नदिएपछि चर्को असुली विरुद्ध विभागमा उजुरी दिन पुगेका थिए । विभागले छापा मारेपछि फ्री भिसा फ्री टिकटको नीति अनुसार पीडितहरू बाँकी पैसा नतिरी बहराइन पुगेका थिए ।

तर बहराइनस्थित कम्पनीले ६ महिनापछिको तलब दिँदा १६० बिडी (नेपाली करिब ५० हजार)को दरले पाँचै जनाको पैसा काटिदिएको पीडितहरूले बताएका छन् । बहराइनको ABDUL AZIZ AL-SAYED CONTRACTING & TRADING CO. W.L.L कम्पनीमा पठाउने क्रममा कम्पनी सञ्चालकका भाइ र एकाउन्टेट पदमा कार्यरत बंगालादेसका नागरिक लुकमान अलिले सोही कम्पनीमा सेक्युरिटी गार्ड पदमा कार्यरत शेरबहादुर नाम गरेका नेपालीसँग मिलेर कम्पनीको डिमाण्डमा नेपाली कामदार लाने क्रममा ४०/४० हजार कमिसन लिने गरेको बताइएको छ । त्यही ४० हजार तिरेर एक्सिस पार्टनर नेपालले एकाउन्टेट अलिसँग डिमाण्ड किनेको हुनसक्ने बुझिएको छ । एजेन्ट दंगालीलेले नेपालबाट सोही कम्पनीमा जाने नेपालीहरूलाई प्रतिव्यक्ति असुली गरेको पैसा मध्ये ४० हजार (कमिसन) कामदारको साथैमा सेक्युरिटीमा कार्यरत शेरबहादुरलाई दिन भन्दै पठाउने गरेको सोही कम्पनीमा कार्यरत नेपालीहरूले बताएका छन् । एजेन्ट शेरबहादुरका अनुसार कम्पनी सञ्चालकका भाइले प्रतिकामदार ८० बिडी, बंगाली एजेन्ट लुकमान अलिले प्रति कामदार २० बिडी र शेरबहादुर नाम गरेका नेपाली एजेन्टले प्रति कामदार २० बिडी भाग लगाएर जति कामदार उक्त कम्पनीमा जान्छन् त्यसै अनुसार कमिसन लिँदै आएका छन् । यसरी म्यानपावर तथा एजेन्टले प्रति कामदार ४० हजार बहराइनमै पठाउने गरेको खुलासा भएको छ ।

यस क्रियाकलापले एजेन्ट तथा म्यानपावरले सम्बन्धित कम्पनीमा पठाउने क्रममा कम्पनीका एजेन्टलाईनै प्रतिव्यक्ति ४० हजार रुपयाँ बुझाउने सर्तमा डिमाण्ड किनेको स्पष्ट भएको छ । कम्पनीले फ्री भिसा फ्री टिकट दिएको भए पनि अलि र नेपाली सेक्युरिटी गार्ड मिलेर ४० हजार कमिसन लिएको, टिकटको पैसा समेत कम्पनीले नदिएको कारण एजेन्ट र म्यानपावरले आफ्नो फाइदा समेत राखेर १ लाख ३० हजारको दरले असुलेको हुनसक्ने सम्बन्धित कम्पनीमा कार्यरत नेपालीको आशङ्का छ । सोही कम्पनीमा जाने क्रममा प्रतिकामदार १ लाख ३० हजार बुझाउने क्रममा १/१ हजारको कुरा नमिल्दा पाँच जना नेपालीहरूले विभागमा उजुरी दिएका थिए ।

बहराइन पुगेका नेपालीहरूले विभागको कारबाहीपछि अहिले कम्पनीले आफ्नो तलबबाट कमिसन काटेको बताएका छन् । पीडित मध्यका कालुमान राईले भने ‘विभागले न्याय दियो भनौँ भने के भनौँ ! अग्रिम तिरेको ५० हजार फिर्ता दिलाउन सकेको छैन । त्यसमा पनि तलबबाट प्रतिव्यक्ति १६० बिडी काटिदियो । बाँकी तलबले खाना खर्च टार्ने कि घर पठाउने अप्ठ्यारो पर्‍यो ।‘ पीडितहरूको अनुसार उनीहरूलाई बहराइन पठाउने नेपालका एजेन्ट बादल दंगालीको आग्रहमा कम्पनीका एजेन्टले उनीहरूको १६० बहराइन दिनारको दरले काट्न लगाएका हुन् ।

विभागले आफूहरूसँग म्यानपावरले अग्रिम असुलेको पैसा समेत फिर्ता दिलाउन नसकेको पीडितहरूको दुखेसो छ । राईले भने ‘विभागले हाम्रो लागि तत्काल छापा मारेर न्याय गरेको थियो तर अहिले यता हाम्रो तलबबाट पैसा काटेपछि लाग्दै छ, विभागभन्दा म्यानपावर तथा एजेन्ट नै बलियो हुँदा रहेछन् । जसरी पनि चर्को लागत असुली छाडे । फ्री भिसा फ्री टिकट नाम मात्रको रहेछ । नेपालको सम्बन्धित निकायहरूको कमजोरीको फाइदा एजेन्टहरूले लिइरहेका रहेछन् ।‘ कम्पनीबाट तलब समेत नगदमा पाएको पीडितहरूले बताएका छन् । दैनिक ओभरटाइम समेत गरेर निकै दु:खको साथ कमाएको तलब समेत काटेर रिसिभ माग्दा समेत नदिएको पीडितहरूको दुखेसो छ । 

उक्त कम्पनीमा हाल झन्डै ३०० जना नेपाली कामदारहरू कार्यरत छन् । उनीहरू मध्ये अधिकांशले १ लाख ३० हजार भन्दा बढी तिरेका छन् । यसै समाचारको अन्तिममा सार्वजनिक भएको भिडियोले पनि सम्बन्धित कम्पनीले कामदार लैजाँदा फ्री भिसा/टिकट नदिएको सम्बन्धित कम्पनीका एकाउन्टेन्ट लुकमान अलिले बताई रहेका छन् । त्यसो त उक्त कम्पनीले कामदारहरूको दुई महिनाको तलब होल्ड गरेर मात्र तलब दिने गरेको छ । पछिल्लो समय उक्त कम्पनीबाट नेपाल फिर्ता भएका केही नेपालीहरूलाई कम्पनीले चार महिनासम्म काम नदिएर फर्काएको पीडितहरूले बताएका छन् ।
अनिल अधिकारीले लेखेको यो समाचार साझासवलबाट जस्ताको त्यस्तै साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्