सहर बजारमा अनलाइन कक्षा शुरु, गाउँमा सुनसान



कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि यहाँका सहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ सुरु हुन थालेको छ । सहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन ।

ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा फोनले समेत खासै काम गर्दैन, अनलाइन कक्षा पढाउने त झनै कुरै भएन, हाम्रा बालबालिकाको भविष्य अन्धकार भयो ।”

यहाँका गाउँघरमा सहर बजारभन्दा बढी विद्यालय भएको र गाउँमा इन्टरनेट नभएका कारण विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकमा चिन्ता थपिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा रहेका विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका भए पनि गाउँमा रहेका विद्यालयले अहिलेसम्म कुनै पनि वैकल्पिक उपाय अपनाउन सकेका छैनन् ।

कोरोना कहर कायमै रहे विद्यालय नखुलेको खण्डमा यहाँका विद्यार्थी नपडीकनै परीक्षा दिन बाध्य हुने अर्का स्थानीयवासी चक्रबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना कहरका कारण शैक्षिक संस्था खुल्न सकेका छैनन्, विद्यार्थीको पढाइ हुन सकेको छैन, यस्तै चलिरहे विद्यार्थीले नपढेरै परीक्षामा समाले हुन अवस्था आउने छ ।”

गाउँका विद्यालयमा कुनै पनि माध्यमबाट पढाइ नभएपछि यहाँका स्कुले बालबालिका दिउँसोको समय गोरु गोठालो तथा राति सुत्नेभन्दा अरू कुनै विकल्प नरहेको सामुदायिक विकास मञ्च नामक गैरसरकारी संस्थामा कार्यरत यशोदा मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा न अनलाइन कक्षा सुरु छ, न त विद्यालय खुलेका छन्, बालबालिका त दिनभरि गोरु गोठालो हुनमै व्यस्त छन्, उनीहरूको भविष्य अन्धकार हुँदै गएको छ ।”

यति मात्र नभई यहाँका सहर बजार नजिकका विद्यालयमा नयाँ शैक्षिक सत्रका पुस्तक पुगे पनि गाउँघरमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । बर्सातले बाटो अवरुद्ध भएका कारण गाउँघरमा समयमै पुस्तक ढुवानीका लागि समस्या हुँदै आएको अमर पुस्तक भण्डार दिपायल पिपल्लाका सर्वजीत देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “सहर बजार क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेका छौँ, गाउँमा वर्षाले समस्या भएका कारण ढुवानी हुन सकेको छैन, सहज भए चाँडै पु¥याउने छौँ ।”

यहाँका दिपायल, पिपल्ला, राजपुर, सिलगढीलगायतका सहरी क्षेत्रमा वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ सुरु गरिएको दिल्पेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दीर्घ बहादुर कठायतले जानकारी दिनुभयो । कोरोनाका कारण नयाँ शैक्षिक सत्र सुरु भए पनि गाउँमा कुनै पनि माध्यमबाट पठनपाठन हुनु नसक्दा गाउँघरमा रहेका विद्यार्थीलाई पढाइमा निकै समस्या भएको उहाँको भनाइ छ ।

सहरी क्षेत्र तथा इन्टरनेटले काम गर्ने क्षेत्रका विद्यालयले यही असार १५ गतेदेखि अनलाइन कक्षाबाट पठनपाठन सञ्चालन गरेका छन् । यहाँका बजार क्षेत्रका विद्यालयमा अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयमा धमाधम पठनपाठन भइरहेको बताइएको छ । विद्यार्थीको पढाइमा निकै समस्या भएको भन्दै यहाँका गाउँघरमा समेत इन्टरनेटको पहुँच पु¥याउन अभिभावकले माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्