उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्छ : अर्थमन्त्री जनार्दन शर्मा



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताएका छन् ।

बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नका लागि नीतिगत र योजनागत रूपमा नयाँ सङ्कल्पको खाँचो रहेको बताएका हुन् । अर्थमन्त्री शर्माले स्थानीय तथा प्रदेश स्तरमा साना उद्योगहरूको सञ्जाल निर्माण गर्दै ठुला उद्योगहरू स्थापना गर्नु आवश्यक रहेको पनि बताए । औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने उनको भनाइ छ । देशको व्यापार घाटालाई निराकरण गर्नका लागि मुख्य आधार नै औद्योगीकरण भएको उनले उल्लेख गरे ।

उनले भने– ‘उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हाम्रो चुनौती हो । यसलाई बदल्नका लागि नीतिगत, योजनागत रूपमा, कार्यान्वयनका दृष्टिकोणले र प्रतिविद्धताका दृष्टिकोणले एउटा नयाँ सङ्कल्पको आवश्यकता छ, हामीले स्थानीय स्तरमा, प्रदेश स्तरमा सना उद्योगहरूको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगहरूको बिचमा फेरि ठुला उद्योगहरू स्थापना गर्नुपर्ने आवश्यकता छ । औद्योगिक क्षेत्रमा विशेष लगानी, विशेष जोड नगरीकन हामी देशलाई आत्मनिर्भर बनाउन सक्दैनौँ । हाम्रो आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनको लागि यो अत्यन्त आवश्यक छ । व्यापार घाटाको जो समस्या छ, त्यसलाई हामीले निराकरण गर्नका लागि औद्योगीकरण नै हाम्रो मुख्य आधार हो । अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए ।

कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटीको क्षेत्रमा विश्वको गन्तव्य स्थल बनाउनको निम्ति प्रधानमन्त्री र अर्थमन्त्री समक्ष आग्रह गरे । उनले नेपालमा उद्योगधन्दा सञ्चालन गर्नका लागि बिचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशी लगानीकर्तामाझ पुर्‍याउनुपर्ने पनि बताए । उनले भने– ‘प्रधानमन्त्री, अर्थमन्त्रीलाई आग्रह गर्दछु की, एकचोटी अब फेरि नपाल एउटा खुला, उदार र ट्रान्सपरेन्ट युगमा प्रवेश गर्दै छ । यहाँ उद्योगधन्दा गर्नका लागि बिचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशका लगानीकर्ताले खोजेर बसेका छन् । त्यसको सुरुवात अब छिट्टै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले नेपाली श्रम शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने– ‘करिब ५ लाखको सङ्ख्यामा श्रम बजारमा प्रवेश गर्ने नेपाली श्रम शक्तिलाई स्वदेशमा स्वरोजगार एवम् रोजगारीको सिर्जना अवसर गर्ने ठोस नीति, निर्माण गरी अघि बढाउनु आजको आवश्यकता हो । अग्रवालले निजी क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमिक तथा मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्