सङ्क्रमणको तेस्रो लहर शुरु हुन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो  भएपछि एक हप्तायता कोरोना सङ्क्रमण दर पुनः बढिरहेको बताएको छ ।  बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको कारण कोरोना सङ्क्रमित फेरि बढ्न थालेको जनाएको हो ।  अब चुनौतीपूर्ण तेस्रो लहर सुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।

निषेधाज्ञा खुकुलो भएको अवस्थामा लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरूको उल्लङ्घन भइरहेको कारण कोरोना सङ्क्रमण  जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।

तेस्रो लहर आउन सक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, श्यायालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ। मन्त्रालयबाट तेस्रो लहर आएर भयावह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको अधिकारीले बताए। सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ, उनले भने, तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचार कक्ष  र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ।

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण छ । अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सङ्क्रमणको जोखिम अझै बढिरहेको बताएको छ ।

मन्त्रालयले आ–आफ्नो पालोमा कोरोनाविरुद्धको खोप लगाउन सम्पूर्णमा अपिल पनि गरेको छ । साथै स्वास्थ्य संस्थाहरूलाई तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै अक्सिजन, शैय्यालगायतका पूर्वाधारहरू तथा सेवाहरू चुस्त दुरुस्त राख्न आग्रहसमेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्