कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुने



काठमाडौँ। आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ। केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण सुरु गरेको छ।

केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण सुरु गरिएको जानकारी दिए।केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पुर्‍याउने काम सुरु गरेको छ।

तीनै वटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो। जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को सबै छपाइसकिएको र कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइरहेको जानकारी दिए।

उनका अनुसार कक्षा ९ को कभर राख्न बाँकी छ। उनले आज मङ्गलवार सम्म सम्पूर्ण पुस्तक छपाइ पूरा गरी वितरण गरिने बताए। पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं प्रवक्ता गणेशप्रसाद भट्टराईले चालू शैक्षिक सत्रको परीक्षण गरी आगामी शैक्षिक सत्र २०७९ देखि कक्षा ४, ७ र ९ को अनिवार्य विषयको नयाँ पाठ्यक्रममा आधारित पुस्तक प्रयोगमा ल्याउने बताए।

उनका अनुसार कक्षा ४ र ९ का लागि प्रदेश १ को सोलुखुम्बुको ३ विद्यालय, प्रदेश २ को सिराहाको ४ विद्यालय, बागमती प्रदेशको ललितपुर, भक्तपुर र सिन्धुलीको ३–३ विद्यालय, गण्डकीको नवलपरासी पूर्वको ३, लुम्बिनीको पाल्पाको ३, कर्णालीको सुर्खेतको ३ र सुदूरपश्चिमको बैतडीको ३ वटा विद्यालयमा परीक्षण हुनेछ। कक्षा ४ र ९ मा एउटै जिल्लाका फरक–फरक विद्यालयमा परीक्षण हुनेछ।

कक्षा ७ मा प्रदेश १ को इलामका ३, प्रदेश २ को धनुषाको ३, बागमतीको दोलखाको ३, काठमाडौँको २ र भक्तपुरको २, गण्डकीको कास्कीको ४, लुम्बिनीको अर्घाखाँचीको ३, कर्णालीको जुम्लाको ३ र सुदूरपश्चिमको कञ्चनपुरको ४ विद्यालयमा परीक्षणका लागि नयाँ पुस्तक प्रयोग गरिनेछ।

प्रवक्ता भट्टराईका अनुसार कक्षा ४ र ७ मा २८–२८ र कक्षा ९ का लागि छनोटमा परेका २० विद्यालयमा नयाँ पुस्तक परीक्षण हुनेछ। उनले भने– ‘यो वर्ष परीक्षण गरी शिक्षक र विज्ञसँग सुझाव लिने र आगामी शैक्षिक सत्रमा आवश्यकताको आधारमा परिमार्जन गरी लागू गराउनेछौँ।’

करिब ५ महिनाअघि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले ४, ७ र ९ को नयाँ पाठ्यक्रम स्वीकृत गरी परीक्षण गर्न अनुमति दिएको थियो। सोही आधारमा पाठ्यक्रम तयार गरी परीक्षण गरेको हो। नेपाल समाचारपत्रबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्