जातीय विभेद गरेको भन्दै चार जना विरुद्ध प्रहरीमा दिए छुवाछूतको जाहेरी



महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ भगतपुरका दलित समुदायका तीन जनाले आफूहरूमाथि जातीय विभेद गरिएको भन्दै स्थानीय चार जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

उनीहरूले चार जनालाई जातीय भेदभाव तथा छुवाछुत( कसुर र सजाय ) ऐन २०६८ अनुसार कारबाही गर्न माग गरेका छन् ।

भगतपुरका सिद्धु दमाई दमाई सहित मथुरा दमाई र तुलसी दमाईले स्थानीय प्रकाश भट्ट, राधिका विष्ट सहित चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।

प्रहरीमा दिइएको जाहेरीमा उनीहरूले चार जनाले आफूहरू बाटोमा उभिएको बेला जातीय रूपमा अपशब्द प्रयोग गरी जातीय विभेद र सार्वजनिक बेइज्जत गरेको उल्लेख गरेका छन् ।

उनीहरूको जाहेरीमा भट्ट सहितले आफूहरूको अगाडि ढोलीहरूले गाडी राखेर सान देखाउन नहुने भनेर जातीय रूपमा अपमानित गरिएकाले कारबाही गर्न माग गरिएको छ ।

जातीय रूपमा अपमान गर्दै उनीहरूले प्रहरीमा उजुरी दिए पनि केही नहुने भन्दै धम्की दिएको जाहेरीमा उल्लेख गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जातीय विभेदको जाहेरी आएको र त्यसबारे बुझ्ने कार्य भई रहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्