राष्ट्रपतिद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उदघाटन



राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक स्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन् । नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएको बताइन् । 

उनले यसलाई पर्यटकीय स्थलमा विकास गर्न सकिने र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ लिन सकिने बताइन् । युद्ध सङ्ग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो ।

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमुनाका रूपमा सङ्ग्रहालय रहेको बताउँदै अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्य स्थलका रूपमा विकास गर्न सकिने राष्ट्रपतिले बत्ताइन् । सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते शिलान्यास गरिएको थियो ।

एकीकरणका घटना र विषयलाई पाठ्यक्रममा समावेश गरी राष्ट्रिय एकता प्रवर्द्धन गरिनुपर्नेमा राष्ट्रपतिको जोड थियो । सो अवसरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको स्वतन्त्रता र स्वाधीनताको रक्षामा महत्त्वपूर्ण स्थलका रूपमा सिन्धुलीगढी रहेको बत्ताइन् ।

उनले सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय स्थापना हुनुले गौरवपूर्ण इतिहास जोगाउन महत्त्वपूर्ण कार्य भएको बताउँदै यसले राष्ट्रिय एकता र सुरक्षामा सहयोग पुग्नेछ भनिन् ।

सरकारले यस्ता सङ्ग्रहालय निर्माणलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्ने उनले बत्ताइन् । सांसद गणेशकुमार पहाडीले ऐतिहासिक स्थल संरक्षणमा १०० पर्यटकीय गन्तव्य स्थलमा समावेश गरेर सिन्धुलीगढीलाई चिनाउने काम भएको बताउँदै यो पर्यटकीय स्थलका रूपमा अङ्ग्रेजहरूको पनि गन्तव्य स्थल हुन सक्ने बत्ताइन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले ऐतिहासिक गढी, किल्ला र एकीकरण मार्गको संरक्षणको कार्य योजना बनाएर संरक्षणमा लागिएको बताए । उनले इतिहास बिर्सने राष्ट्रको औचित्य नहुने भएकाले २५३ वर्षअघिको ऐतिहासिक स्थललाई चिनाउने काम भएको छ भने ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले पनि नवनिर्मित युद्ध सङ्ग्रहालयलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा प्रधानसेनापति थापाले नगरप्रमुख खत्रीलाई सङ्ग्रहालय हस्तान्तरण गरे ।सङ्ग्रहालयमा त्यति बेलाको युद्धमा प्रयोग भएका हातहतियार र ऐतिहासिक दस्ताबेज सङ्ग्रह गरिएको छ ।

नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौँ कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरू बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्