टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन



काठमाडौँ ।  जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । केही बेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् ।

उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन्। नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भइन्। उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ । चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिकमा नेपाली खेलाडीको प्रतिस्पर्धा सकिएको छ । 

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी  कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेका छन् । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् । पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्