महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिए, खसेर एक जना बेपत्ता



फाइल तस्बिर

दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एक जना नेपाली नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी शुक्रवार बिहान ८ बजेतिर महाकालीमा खसेर  बेपत्ता भएका हुन् ।

महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताए। ‘भारततर्फ पुग्ने वेला एसएसबीले एक्कासि तुइन काटिदियो,’ उनले भने, ‘नदीको बीचभागमा पुग्ने वेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्।’

‘पाँच छ जना स्थानीयहरू सामान लिन भारतको बाटो हुँदै दार्चुला आइरहेका थियौँ’, प्रत्यक्षदर्शी धामीले भने, ‘छ सात जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुईन काटिदिए।‘ भारत पांगलमा रहेका एसएसबीले तुइन काटेका हुन्।

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित छन् । नेपालतर्फ सडक नहुँदा ब्यास क्षेत्रका स्थानीयहरू दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ। तुइनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् । सरकारले तुइनमुक्त कार्यक्रम अन्तर्गत तुइन भएको ठाउँमा पुल बनाउन योजना सञ्चालन गरेको भए पनि पुल निर्माण अलपत्र छ। व्यासका नागरिकहरू खाद्यान्न, औषधी, र आवतजावत यही तुइनमार्फत आवतजावत गर्दै आएका छन् ।

बेलाबेला एसएसबीले तुइन काटिदिने गरेको भए पनि स्थानीयले तुइन लगाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार तुइन तरेर व्यासका केही मानिस भारतीय बजार गएका थिए । प्रहरी घटनास्थलमा पुगेको दार्चुला प्रहरीका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्