भारतविरुद्ध प्रतिकारमा उत्रिन विप्लव नेकपासहित चार दलको आग्रह



 काठमाडौँ । दार्चुलामा नेपाली नागरिक चढेको तुइन भारतीय सीमा सुरक्षा बलले काटेर ज्यादती गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलले संयुक्त विज्ञप्ति निकालेका छन्।

नेकपा महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले निकालेको संयुक्त विज्ञप्तिमा भारतविरुद्ध प्रतिकारमा उत्रिन आह्वान गरिएको छ।

‘एसएसपीले काटिदिएर नेपाली नागरिक महाकालीमा बेपत्ता बनाएको घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप हो’, उनीहरूले भनेका छन्, ‘यो घटनामा बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, परिवारलाई न्याय र राहतको व्यवस्था तथा दोषीलाई यथाशीघ्र कारबाही का लागि विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी माग गर्दछौँ।’

दार्चुलाको माल घाट तुइन काटिनु नेपालीको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारविरुद्धको हेपाहा र षड्यन्त्रमूलक घटना भएको चार दलले जनाएका छन्। उनीहरूले भारतीय पक्षले गराएको यस घटनाको डटेर प्रतिरोध गर्न पनि नागरिकलाई आह्वान गरेका छन्।

‘यथाशक्य चाँडो घटनाको वास्तविकता नेपाली जनताबिचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही ढिला गरियो भने हामी चार पार्टी संयुक्त सङ्घर्षमा जान बाध्य हुनेछौँ’, उनीहरूले विज्ञप्तिमा भनेका छन्।

यसैबिच विप्लव नेतृत्वको नेकपाले शनिवार देखी नै भारतविरुद्ध सडक सङ्घर्ष थालेको छ। विप्लव नेकपाले आजै राजधानीमा विरोध जुलुस निकाल्दै भारतीय सुरक्षाकर्मीमाथि कारबाही माग गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्