आकर्षक बन्दै टेङ्नैया बाबा धाम, शिव र गणेश भगवानको मूर्ति स्थापना



दाङ । लमही नगरपालिका वडा नम्बर ८ स्थित टेङ्नैया बाबा धाम धार्मिक तथा पर्यटकीय क्षेत्रमा शिव र गणेश भगवानको मूर्ति स्थापना गरिएको छ । सोमवार लुम्बिनी प्रदेश सभा सदस्य रेवती रमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासेले स्थापना गरिएको शिव र गणेश भगवानको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन ।

भक्तजनहरूको उपस्थितिमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो । अहिले टेङ्नैया बाबा धाममा पर्यटकहरूको आकर्षण बढ्दो छ । हेर्न लायक क्षेत्र भएपछि भक्तजनहरुको उपस्थिति बढेको टेङ्नैया बाबा धार्मिक विकास क्षेत्र समितिका अध्यक्ष डिल्लीबहादुर खड्काले बताए । टेङ्नैया बाबा धाम पुर्ब पश्चिम राजमार्गको निम्ब खुटी देखि दक्षिण तर्फ लेकको फेदीमा अवस्थित छ ।

धामको आकर्षकमा जङ्गल, खोला, गुफा, संरचना लगायतको उत्तिकै भूमिका छ । पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । स्थापना गरिएको भगवानका मूर्तिले थप आकर्षक थप्दै भक्तालुहरुको घुँईचो बढ्ने विश्वास गरिएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य रेवती रमण शर्माले यहाँको महत्त्वको बारेमा सबै माझ पुर्‍याउन प्रचार गर्नुपर्ने आवश्यक औँल्याए ।

उनले भने पर्यटन सँग जोडेर अन्य जिल्लाका भक्तजनहरूलाई पनि यहाँको भ्रमण गराउने गरी योजना बनाउन आवश्यक छ । नगर प्रमुख कुलबहादुर केसीले धारपानीको पाण्डवेश्वर मन्दिर सँग टेङ्नैया बाबा धामलाई जोड्न पहल गर्ने बताए । कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष मेघनारायण चौधरी, कार्यपालिका सदस्य राधा केसी, नारायणी खड्का, वडा सदस्य देवा परियार, सुन माली विक, राजकुमार चौधरी, गणेश चौधरी लगायतको सहभागिता रहेको थियो ।

टेङ्नैया बाबा धामको विकासका निम्ति लुम्बिनी प्रदेश सरकारले पर्यटन डिभिजन कार्यालय बाँके बाट गत आर्थिक वर्षमा पर्यटन तथा पूर्वाधार निर्माण तर्फ १९ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी जम्मा २२ लाख ८० हजार रुपैयाँको लागतमा गुफाको संरक्षण, खोलामा तटबन्ध, खोला माथि गणेश भगवानको मन्दिर स्थापना गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्