पार्टी एकता नभए सरकारमा जाने माधव समुहको तयारी



काठमाडौँ। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नभए सरकारमा आउने बाटो राखिदिन सत्ता पक्षीय गठबन्धनसँग आग्रह गरेका छन् । तर, उनले मन्त्रीमण्डल विस्तारका लागि आफूहरूलाई नकुर्न सुझाव दिए ।

दुई-तीन दिनभित्र आफूहरूले अन्तिम निर्णय लिने भन्दै उनले व्यक्तिगत रूपमा सरकारमा आउनेलाई नसमेट्न सुझावसमेत दिए। नेता नेपाल पक्षको प्रतीक्षा गर्दा मन्त्रिपरिषद् बिस्तार हुन नसकेको सत्ता गठबन्धनका नेताहरूले बताउँदै आएका छन् ।

नेपालले मङ्गलवार आफ्नो पार्टीमा एकताको प्रयास भइरहेको र त्यसको नतिजा नआउन्जेल मन्त्रिपरिषद् बिस्तार नगर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

नेपालले बुधवार आफू पक्षीय केन्द्रीय कमिटी बैठक पनि बोलाएको र त्यसबाट पनि आगामी राजनीतिक बाटो पहिल्याउन सहयोग मिल्ने भएकाले एक दुई दिन आफ्ना लागि कुर्न प्रचण्ड र श्रेष्ठलाई आग्रह गरेका थिए। श्रेष्ठले सुरुदेखि अहिलेसम्म नेपाल पक्षको प्रतीक्षा गर्दा मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भएको बताए ।

तर यसअघि बुधवार तय गरेको आफू पक्षीय केन्द्रीय कमिटी बैठक बिहीबार गर्ने निर्णयमा नेपाल पुगेका छन् । उनले आफू पक्षीय केन्द्रीय कमिटी बैठक एक दिन पर धकेल्नुमा मुख्यतया दुई कारण छन्। पार्टी एकताका लागि एमाले विवाद समाधान सम्बन्धी कार्यदलका पूर्व सदस्यहरू एकताका लागि अन्तिम प्रयासमा जुटेको र केन्द्रीय सदस्यहरू बाहिरबाट आउनु पर्ने भएकाले उनीहरूका लागि एक दिन समय अपुग भएकाले नेपालले बैठक धकेलेका हुन् ।

एक दिन पर धकेलिएको बैठक कम्तीमा तीन दिन चल्ने नेपाल पक्षका नेताहरूको भनाइ छ। बैठक नसकी आफूहरू सरकारमा जाने या नजाने निधो गर्न असक्षम हुने उनीहरू दाबी गर्छन् । नेपालले अध्यक्ष ओलीले पदबाट राजीनामा दिनु पर्ने या आफूले पनि उनी सरह हैसियत पाउनु पर्ने, संसद् विघटनलगायत राजनीतिक मुद्दामा ओलीले माफी माग्नु पर्नेलगायत अडान लिएका छन् । लोकपाटीबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्