साउन १६ भित्र निवेदन दिएकाको मात्र जिट्को नवीकरण हुने



काठमाडौं : वैदेशिक रोजगार विभागले साउन १६ गतेभित्र निवेदन दिएका म्यानपावर कम्पनीको मात्र जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) लाइसेन्स नवीकरण हुने बताएको छ । विभागले जिट्को लाइसेन्स नवीकरण गर्नका लागि एक महिनाको समय दिएर असार १७ गते बिहीबार सूचना सार्वजनिक गरेको थियो । उक्त सूचना अनुसार म्यानपावर कम्पनीहरूले जुलाई ३१ अर्थात् साउन १६ गतेभित्र निवेदन दिइसक्नुपर्ने म्याद थियो ।

 

नवीकरण हुन चाहने म्यानपावर कम्पनीहरूले निवेदनका साथमा नवीकरण दस्तुर बापत दश हजार रुपैयाँ बुझाएको रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचीकरण प्रमाणपत्रको प्रतिलिपि, जिट्को मार्फत गत आर्थिक वर्ष २०७६/०७७ मा कामदार पठाएको विवरण, आगामी आर्थिक वर्ष २०७८/०७९ वा सो भन्दा अगाडिका आर्थिक वर्षका लागि म्यानपावर नवीकरण भएको प्रमाणपत्र, बैङ्क ग्यारेन्टी र नगद धरौटी, कर चुक्ता प्रमाणपत्र, कम्पनी रजिस्ट्रार को कार्यालयमा गत आर्थिक वर्षसम्म अद्यावधिक भएको वा प्रक्रिया सुरु भएको प्रमाणित हुने कागजात पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । विगतमा जिट्को लाइसेन्स लिएका केही म्यानपावर कम्पनीले नवीकरणका लागि निवेदन दिन छुटेको बताएका छन् ।

 

विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ मा नै साउन १६ गतेभित्र नै विभागले तोकेका प्रक्रिया पूरा गरी नवीकरणको निवेदन दिनुपर्ने उल्लेख गरेकाले उक्त मितिपछि जिट्को नवीकरण निवेदन नलिइएको बताए ।

 

नवीकरणका लागि तोकिएको प्रक्रिया पूरा गरेका म्यानपावर कम्पनीहरूको जिट्को लाइसेन्स क्रमशः नवीकरण भइरहेको पनि भट्टराईले जानकारी दिए ।

 

म्यानपावर कम्पनीले प्रशिक्षार्थी कामदार जापान पठाउन पाउने भएपछि सुरुमा करिब साढे दुई सय म्यानवापर कम्पनी सूचीकृत भएका थिए । विभागमा सूचीकरण हुने तर जापानमा कामदार पठाउन नपाउने भएपछि धेरै म्यानपावर कम्पनीहरूले जिट्को तर्फको लाइसेन्स नवीकरण गराउन छोड्दै आएका छन् । मध्यान्न दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्