लेखक : सुनिल उलक
पश्चिम सुर्खेतका बासिन्दा दलवीर सिंह र उनले बनाएको झोलुङ्गे पुलहरूको चर्चा गर्दा पश्चिम नेपाल मुख्यतया कर्णालीवासीहरूको उत्साह देखियो । दलवीरको वाह वाह गर्नेहरू धेरै भेटिए । उनको जन्मस्थल रहेको गुराँस गाउँपालिका तथा प्रदेश सरकार पनि सचेत भएको देखियो । तर यस किसिमका उत्साही र समाज प्रति निस्स्वार्थ भावले पुल बनाइदिने अरू पनि थिए । त्यो बेला झोलुङ्गे पुल बनाउने आँट गर्नु त्यति सहज थिएन । सोचेर मात्र सम्भव थिएन । धन भएर मात्र पनि सम्भव थिएन । तर पनि यस किसिमको झोलुङ्गे पुल बनाएर समाजमा अनुकरणीय उदाहरण देखाउने धेरै भेटिन्छन् ।
यो कथा पूर्वी नेपालको लिम्बूनी पुलको हो । ६०-६५ वर्ष अगाडि बनेको वास्तविक लिम्बूनी पुलको अस्तित्व अहिले छैन तर त्यही स्थानमा बन्न लागेको नयाँ पुलको नाम पनि उही लिम्बूनी पुल रहेको छ । तसर्थ यो नाम अहिले फेरी सुनिन थालेको छ । तमोर कोरिडोरको रूपमा हिमाल र तराइ जोड्ने सहज र छोटो बाटो तैयार हुदैछ । चिनिया सीमा टिप्ताला भन्ज्याङबाट भारतीय सीमा रानी भन्सार जोड्ने सबैभन्दा छोटो राजमार्ग बन्दै छ । यसै राजमार्गमा पर्ने तमोर नदीको पुललाई लिम्बूनी पुल नै नामाकरण गरिएको छ । पहिले हिँडेर जाँदा निधुरादीनबाट अमरपुर निस्कदा तमोर खोला तर्ने पुल नै लिम्बूनी पुल थियो । यो पुल हाल ओलाङचुङगोला लोकमार्ग अन्तर्गत पर्दछ । अझ भनौँ भने पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका र ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको सेतुको रूपमा रहेको तमोर नदीको झोलुङ्गे पुल नै लिम्बूनी पुल हो ।
लिम्बूनी शब्दले नै जनाउँछ कुनै महिलाको नामबाट बनेको पुल हो । हालको ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका अन्तर्गत वडा नं ५ चाँगेको नेसुममा विसं १९३४ को चैत्रमा जन्मनु भएका विष्णुमाया लिम्बूनीको नामबाट बनेको पुल हो । विष्णुमायाको पुरा नाम विष्णुमाया नाल्बो आंगबुहांग हो । नेपालमा राणा शासनको अन्त्यको समय आफ्ना श्रीमान् गुमाएका विष्णुमायालाई आफ्नो श्रीमानको सम्झनामा केही गर्ने रहर जाग्न पुग्यो । जीवनको सबैभन्दा ठुलो धन भनेकै श्रीमान् थियो, श्रीमान् नै गुमाए पछि यो धनको मेरो लागि अरू धनको महत्त्व नै के छ भनेर सोच्दै उनले तमोरमा झोलुङ्गे पुल हाल्ने सोचे । आफ्नाहरू तथा छरछिमेकको सल्लाहले पुल बनाउने ठाउँको निधो गरे । पुल बनाउन आवश्यक सामग्री खरिद गर्न भारतको सिलिगुडीमा गाउँलेहरूलाई पठाए । मुख्य सामग्री फलामे लट्ठा तथा फलामे साङ्लो उतैबाट ल्याइयो । अन्य सामग्री गाउँमा नै तैयार बनाइयो ।
उनको गाउँ देखि करिव चार घण्टा हिँडेर पुगिने तमोर हिउँदमा त मुस्किलले तर्न सकिन्थ्यो तर वर्षामा भने तर्ने आँट कसैले गर्न सक्दैनथे । खोलामा राखिने फड्केको कुनै भर नै हुँदैनथ्यो । ताप्लेजुङ तथा पाँचथरबाट नुन तेलको लागि ढाकर बोकेर आउने भरियाहरू कति त तमोरले वर्षेनी खान्थे । हरेक वर्षातमा मृत्युका समाचारले आक्रान्त बनेको बुढ्यौली मनले पुल बनाउने अठोट नै गरिन् । बिष्णुमायाले पुल बनाउने आँट गर्दा उनको उमेरले चार बिस पुग्न पाँचै वर्ष मात्र बाकि थियो । यो बुढ्यौली उमेर सबै चिन्ता पिरलाई ठाँटी राखेर आराम गर्ने दिन थियो । तर विष्णुमायाको कमलो मन तथा श्रीमानबाट वियोगले आक्रान्त भएको मनले पुल बनाउने निश्चित गरिन ।
विसं २००९ सालमा पुल तैयार भयो । पुल बनेपछि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका गाउँले सबैलाई सहज भयो । गाउँबाट ढाकर बोकेर लहरै हिँड्ने भरियाहरू पनि खुसी भए । अब वर्षेनी जीवन गुम्ने डर भएन । गाउँले सबै मिलेर पुलको नाम नै विष्णुमायाको सम्झनामा लिम्बूनी पुल राखिदिए । विष्णुमायालाई कसैले सम्झन्छन् या सम्झँदैनन् त थाहा भएन तर लिम्बूनी पुलको नाम सदैव अमर भएको छ । उनले बनाएको पुलको स्थानमा नयाँ पुल बन्यो, त्यसपछि फेरी यातायात नै सुचारु हुने गरी पक्की पुल बन्दै छ । तर नाम भने अहिले पनि लिम्बूनी पुल नै रहेको छ ।
बुढापाकाले भन्ने गर्छन् भगवान हुन्छ या हुँदैन थाहा छैन । तर भगवानले सधैँ भन्ने गर्छ, “तिमी आँट म पुरा गरिदिन्छु” । कुनै पनि काम गर्न उमेर वा धन होइन मन हुनुपर्छ । दृढ सङ्कल्प हुनुपर्छ । आटेको पुरा हुन्छ । हुन पनि विष्णुमायाको उमेरले पचहत्तर छोएको थियो । गाउँको एक गृहिणीसङ पक्कै पनि पर्याप्त धन पनि थिएन । तर उनको आँट र साहसको अगाडि कसैको केही लागेन । उनले गाउँलेको लागि पक्की झोलुङ्गे पुल बनाइछाडे ।
यो पुल रहेको ठाउँमा हरेक वर्ष श्री पञ्चमीको दिन मेला लाग्ने गर्दछ । मेला भर्न आउनेहरूले सधैँ बोजूलाई सम्झने गर्दछ । लिम्बूनी बोजूको ७९ वर्षको उमेरमा २०१५ साल मङ्सिरमा स्वर्गारोहण भयो । वहाँको देहले यो संसार छोडेर गए पनि पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनताहरूको मनमा सधैँ बसिरहनु भएको छ । वहाँको अमर योगदानले गर्दा वहाँ सधैँ जीवित हुनुहुनेछ । बोजू सधैँ अमर रहनु हुनेछ ।
यहाँ राखिएको तस्बिर विष्णुमायाले बनाएको झोलुङ्गे पुलको हो । साथमा राखिएको तस्बिर तिनै लिम्बूनी बोजूको हो । यिनै लिम्बूनी बोजू प्रति अन्तर हृदयबाट नै सेवारो तथा नोगेन भन्न चाहन्छु ।
याक्थुङमा युःयुः आनिवा सिगाङ नु ए यरिक-यरिक नोगेन लो। युःयुः आजुनिए निवासो ए कुहिङएत केवारो ।
(सुनील उलकको फेसबुकबाट ।)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।