हुम्लाका वडाध्यक्ष रोकायाको धोको पुरा , ५८ वर्षमा गरे एसईई उत्तीर्ण



सिमकोट : बुढ्यौलीमा वडाध्यक्षले यस पटकको एसइई उत्तीर्ण गरेका छन् । यस पटकको एसइईमा सामेल भएका उनको धोको परीक्षाको परिणाम सार्वजनिक भएपछि पुरा भएको हो । 

वर्षौँदेखि उति बेलाको एसएलसी र अहिलेको एसइई उत्तीर्ण गर्ने सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष  जयचन्द्र रोकायाको धोको पुरा भएको छ । 

बुढ्यौलीले पढाइलाई रोक्दैन भन्नै भनाइलार्ई वडा अध्यक्ष रोकायाले पुष्टि गरेका हुन । साउन २४ गते सार्वजनिक भएको यस वर्षको एसइई परीक्षाको परिणाममा उनले दुई दशमलव ५५ जिपिए ल्याएका छन् ।

मानसरोवर माध्यमिक विद्यालयबाट वडाध्यक्षले एसइई पुरा गरेका हुन् । कोरोना कहरले भौतिक उपस्थितिमा परीक्षा दिने वातावरण नबनेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनबाट भएको परीक्षामा उनी उत्तीर्ण हुने मौका पाएका हुन् ।

पुरानो शिक्षा अध्ययन गरेका वडा अध्यक्ष रोकायाले ढल्कँदो उमेरमा एसइई गर्ने जाँगर केही पहिल्यै चलेको थियो । उमेरले ५८ वर्ष पुगेका उनले आफ्नै गाउँको माध्यमिक विद्यालयबाट फर्म भरेका थिए । 

उनले परीक्षाको तयारी राम्रै गरेको भए पनि भौतिक रूपमा उपस्थित भएर दिन नपाएको चित्त दुखाई रहेको छ । परिस्थितिले आन्तरिक मूल्याङ्कन गर्ने अवस्था पुर्‍याएकोमा उनमा चित्त बुझेको भने छैन । पूर्ण रूपमा आफ्नै लेखाइले नम्बर ल्याउन पाएको भए अझै सन्तुष्ट हुने बताउने उनले अब कक्षा ११ मा भर्ना गर्ने कि भन्ने सोच पनि बनाएका छन् । 

पुरानो शिक्षामा एसएलसी दिएर पनि पास हुन नसकेका वडा अध्यक्ष रोकायाले सिक्ने सिकाउने बाटो कहिल्यै बन्द हुँदैन भन्ने सन्देश दिएका छन् । यस वर्ष हुम्लाबाट एसइई दिने विद्यार्थीमा रोकाया ज्येष्ठ विद्यार्थी हुन् । कर्णाली खबरबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्