बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनकारीको माग सुनुवाइ हुनुपर्छ: राप्रपा धरान



सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी धरान कार्यसमितिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरणको नाममा शिक्षक, कर्मचारीले गरेको आन्दोलनप्रति ध्यानाकर्षण जनाएको छ । नगर कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको कार्यक्रम ७२ दिन पुगिसकेको हुँदा सम्बन्धित पक्षलाई सुनुवाइको माग गरेको हो ।

नगर अध्यक्ष नवीन पराजुलीले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाह तथा शैक्षिक कार्यक्रममा पछिल्लो केही समययता स्थापनाकालको तुलनामा कमी आइरहेको बेला कर्मचारीबिचमा भएको असमझदारीले अझ प्रतिष्ठानको ख्यातिमा दाग लागेको ठहर गरेको छ ।
यहाँको विसङ्गति र विकृतिबारे धरानका मेयरसहितको सरोकारवाला टिमले मन्त्रालयमा ध्यानाकर्षण गरी काठमाडौँबाट फर्किसकेको भए पनी आन्दोलनको मागले सार्थकता पाएको छैन ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठानबाट सङ्कलित प्रमाण र फायलहरूको अध्ययनबाट देखिएका ब्यहोरा र समितिहरूले स्वास्थ्य मन्त्रालय र कुलपति कार्यालयमा पेस गरेको/ गर्ने प्रतिवेदनको आधारमा दोषीलाई कडा कारबाही गर्न माग गर्दछ ।’

आन्दोलनमा उठाइएका विषयहरूको सम्बन्धमा सबै आधिकारिक निकाय, कुलपति, सहकुलपतिहरू जानकार भइरहेको अवस्थामा कारबाहीको माग गर्दै आन्दोलनकारीले पदाधिकारीको कार्यकक्षमा हालसम्म तालाबन्दी गरेको सन्दर्भमा राप्रपाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्