सुनले बनेको पहिलो पाँचतारे होटल



भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटेल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटेल हो । उक्त होटेलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटेलका झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट सबैमा स्वर्ण लेपन गरिएको छ । यति मात्र होइन, उक्त होटेलमा खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुन लेपन गरिएका छन् ।

उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटेलमा ४ सय वटा कोठाहरू रहेका छन् । उक्त होटेलको बाहिरी भित्तामा पनि ५४ हजार वर्ग फिटमा सुन लेपन गरेका टायल लगाइएको छ । होटेलको लबीमा पनि फर्निचर तथा अन्य साजसज्जाका सामानहरूमा सुनकै लेपन गरिएको छ । बेडरूममा फर्निचर तथा अन्य सामानहरू, वास रुम, बाथटब, सिंक तथा सावरलगायतका सबै सामानहरू सुनले लेपन गरिएको छ । यी सबै कारणले गर्दा पुरै होटेल नै स्वर्णमय देखिन्छ ।

सुनले बनेको उक्त होटेलका कर्मचारीहरूले पहिरनसमेत रातो तथा सुनौलो रङको लगाउँछन् । उक्त होटेलको छतमा इन्फिनिटी पुल बनाइएको छ । उक्त पोखरीको बाहिरी पर्खालमा लगाइएका इँटाहरूमा पनि सुनकै लेपन गरिएको छ । डोल्से हनोइ गोल्डेन लेक होटेलको निर्माण सन् २००९ मा सुरु भएको थियो । सुनले बनेको यो होटेलमा गएर रात बिताउनका लागि गोजीचाहिँ गरम नै चाहिने रहेछ । होटेलमा एक रात बिताउन कोठाको न्यूनतम शुल्क ३२ हजार रुपैयाँ बराबरको रकम रहेको छ । त्यस्तै डबल बेडरुम साइटको एक रातको १ लाख १२ हजार रुपैयाँ तिर्नुपर्दछ । होटेलमा कल ६ प्रकारका कोठाहरू तथा ६ खाले सुइटरहरू छन् । होटेलको सबैभन्दा महँगो साइटको रुपमा रहेको प्रेसिडेन्सियल सुइटमा एक रात बिताउनका लागि ७ लाख ३२ हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्