इजरायलको भाषा परीक्षा सञ्चालन निर्धारित तालिकामा गर्ने विभागको तयारी



काठमाडौँ ।  वैदेशिक रोजगार विभागले इजरायलको भाषा परीक्षा पूर्व निर्धारित मिति र समयमा हुने बताएको छ । परीक्षा भदौ २८ गते हुँदै छ । परीक्षा दिनको ठिक १ बजे सञ्चालन हुने विभागले जनाएको छ । 

इजरायलमा स्वास्थ्य सहायक पठाउने नेपाल सरकारको निर्णय र वैदेशिक रोजगार विभागको परीक्षा सञ्चालन गर्ने तयारी बारेमा सर्वोच्च अदालतमा रिट परी शुक्रवार न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल इजलासमा छलफल भएको थियो । निवेदकका कानुन व्यवसायी अधिवक्ता सुरेश कुमार कार्कीले सर्वोच्चको आदेशले विभागले सञ्चालन गर्ने परीक्षा रोकिने दाबी गरेका थिए । तर विभाग स्रोतले सर्वोच्च अदालतले सुरक्षित वातावरणमा परीक्षा सञ्चालन गर्ने आदेश दिएको जानकारी आएको भन्दै पूर्ववत् रूपमा परीक्षाको कार्यक्रम अघि बढेको र आवेदकहरूले परीक्षाका बारेमा भ्रम वा द्वविधामा पर्न नहुने बतायो । 

सर्वोच्चको आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरिएको सन्दर्भमा हेर्दा निवेदनमा उठाइएका अन्य विषयको हकमा अन्तिम निर्णय हुँदा विचार गरिने हुँदा बोली रहनु परेन । कामदार छनोटका लागि सञ्चालन हुन गइरहेको परीक्षाको हकम कोभिड–१९ महामारीलाई दृष्टिगत गरी सुरक्षित तवरबाट हुने कुराको सुनिश्चित गरी परीक्षा सञ्चालन गर्ने प्रबन्ध मिलाउन सर्वोच्च अदालत नियमावली अनुसार अन्तरिम आदेश जारी गरिएको’ भन्ने उल्लेख छ । 

सर्लाही नगरपालिका मलंगवा वडा नं. ५ हाल परिवर्तित मलंगवा नगरपालिका वडा नं. ३ बस्ने नुरी मिकरानीले उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ भनी बुधबार रिट दायर गरेका थिए । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई विपक्षी बनाइएको छ ।

रिटमा मुख्यत श्रम मन्त्रालयले २०७२ जेठ २६ मा भएको ‘फ्रि भिसा, फ्रि टिकट’ विपरीत इजरायलमा कामदार छनोटको प्रक्रिया शुरू गरिएको, खुला बजार अर्थतन्त्र अङ्गालेको सरकारले कामदार पठाउने ‘एजेन्ट’को काम गरेको र जोखिमपूर्ण काममा नागरिक पठाउनु संविधान र कानुन विपरीत रहेको दाबी छ ।

परीक्षामा अङ्ग्रेजी भाषाको ८० अङ्कको लिखित परीक्षा र २० अङ्कको अन्तर्वार्ता हुने विभागले जनाएको छ । 

परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । सरकारले इजरायल रोजगारीका लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन आह्वान गरेको थियो । त्यस क्रममा ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार भन्दा केही बढीको आवेदन स्वीकृत भएको छ । तर तोकिएको योग्यताका मध्ये सिएमए तालिमको अवधि १८ महिनाको नभएको पाइएको भन्दै धेरैलाई अयोग्य बनाएर उनीहरूलाई परीक्षामा सहभागी हुन वञ्चित गरिएको गुनासो बढेको छ ।

सिएमए परीक्षा उत्तीर्ण गरी १५ वर्षसम्म नेपाली अस्पतालमा काम गरिरहेका सिएमए नर्सहरूलाई शैक्षिक प्रमाणपत्रमा तालिमको १८ महिनाको अवधि प्रष्ट नभएको भन्दै विभागले परीक्षामा सहभागी र छनोट हुने अधिकारबाट वञ्चित गराएको परीक्षामा सहभागी हुनबाट वञ्चित पाल्पाकी रमा नेपालले दुखेसो गरिन् । उनले भनिन्, ‘शैक्षिक प्रमाणपत्रमा अवधि उल्लेख नहुनु परीक्षार्थीको कमजोरी होइन, परीक्षार्थीले उत्तीर्ण गरेको सालमा सिटिईभिटीले कति अवधिको तालिम लिएको रहेछ बुझेको भए तालिम अवधि प्रष्ट हुने थियो । त्यसतर्फ बुझ्ने प्रयास नगरी विभागले स्वेच्छाचारी बाटो अपनाएको देखियो । यसले अनुभवीलाई परीक्षामा सहभागी हुने अवसर र अधिकारमा नै आघात पारेको छ ।’ 

विभागले परीक्षाको शुद्धता कायम गर्न लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने बताएको छ । तर कतिपयले बजारमा चलखेलका हल्ला धेरै आएको भन्दै निष्पक्षतामा सचेत हुनुपर्ने सुझाव दिएका छन् । 

इजरायल रोजगारीका लागि सुरुमा १ हजार जना सहायक कामदार लैजाने बताएको छ । त्यसका लागि १ हजार ४ सय जना छनोट हुने छन् । विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक नेपाली रुपैयाँ करिब एक लाख ९३ हजार हुनेछ । कामदारको खानाको प्रबन्ध आफैँ मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने जनाइएको छ । मध्यान्ह डेलीबाट साभार 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्