दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ



काठमाडौं। नेपालीहरूको मुख्य पर्व दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ।त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ।

दसैँमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो। दसैँमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रवार व्यवसायी र सरकारी प्रतिनिधिबिच यातायात व्यवस्था विभागमा छलफल भएको छ।

सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासङ्घबिच दसैँमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ। महासङ्घका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए।

१० असोजदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

महासङ्घमा करिब सय वटा कम्पनी आबद्ध छन् र एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँग भने दसैँमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ। त्यसका लागि पुनः छलफल गरिने भएको छ। सो महासङ्घसँग समेत सहमति गर्ने गरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ। कोभिड–१९ को महामारी सुरु हुनु अघि विगतका वर्षहरूमा दसैँ सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो।

गत वर्ष भने ढिला गरी अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। कोभिड सुरु हुनुपुर्वका वर्षहरूमा दसैँ तिहारको अवसरमा १५ देखि २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका थिए । कोभिड सुरु भएपछि गत वर्ष भने दसैँका बेला ५÷६ लाख व्यक्ति मात्र उपत्यकाबाट बाहिरिएका थिए। सरकारले चैत २०७६ मा देशव्यापी लकडाउन घोषणा गरेपछि सो वर्ष लकडाउन अगाडी र लकडाउनबिच अवधि गरेर करिब ६(७ लाख मानिस बाहिरिएका थिए।

कोरोना सर्ने डर र कतिपय ठाउँमा क्वारेनटाइनमा समेत बस्नुपर्ने नियमका कारण पनि सो वर्ष चहल पहल कम भएको थियो। गत वर्षको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छाडेर बाहिरिने यात्रुको सङ्ख्या केही मात्रामा बढी हुने व्यवसायीहरूले अनुमान गरेका छन्। यो वर्ष सरकारले देशव्यापी रूपमा लकडाउन गरेको छैन भने पछिल्लो समय भौतिक रूपमा नै विश्वविद्यालय तथा विद्यालयमा पठनपाठन सुरु गरिएको छ।

कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या पनि क्रमशः घट्दै गएको छ। दसैँको अवसरमा गत वर्षहरूमा उपत्यकाबाट बाहिर जानेका लागि कलङ्की, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुनधारा, नागढुंगा र लगनखेललगायतका स्थानबाट अग्रिम बुकिङ टिकट वितरण गर्ने गरिन्थ्यो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सात दोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, पुरानो बसपार्क, स्वयम्भू, कलङ्की, नागढुंगा, र सुनधारालगायत स्थानमा नागरिक सहायता कक्षा स्थापना गरेर यात्रुका लागि समन्वयकारी तथा सहयोगी भूमिका निभाउने गरिँदै आइएको छ। राजधानी दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्