काँग्रेस नेता नारायण खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ



काठमाडौँ ।  नेपाली काँग्रेसका नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेका हुन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

मङ्गलवार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले खड्कालाई परराष्ट्र मन्त्री बनाउने सहमति गरेको थियो । खड्का गएको प्रतिनिधि सभा निर्वाचनमा उदयपुर-१ बाट निर्वाचित भएका थिए।  संयुक्त राष्ट्र सङ्घको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री जानुपर्ने भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्री नियुक्त गरेका हुन्।

 नवनियुक्त मन्त्री खड्काले केही बेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्नेछन् । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्