सोनाहाको सूचीकरण अव कसैले रोक्न सक्दैन : प्रदेश प्रमुख शेरचन



कैलाली । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वका विकसित राष्ट्रहरूले चन्द्रमामा बस्ती बसाउने योजना गरिरहँदा नेपालका ग्रामीण बस्तीहरूमा पहिचानका लागि लडाई लड्नु दुखद भएको बताएका छन् ।

बर्दियाको राजापुरमा आयोजित तेस्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले सोनाहा जातीको पहिचानकासन्र्दभमा सर्वोच्च अदालतले २०७२ मङ्सिर १६ गते छुट्टै जाती भनेर परमादेश दिइसकेको अवस्थामा सोनाहाको सूचीकरण कसैले रोक्न नसक्ने बताए ।

सोनाहाको सूचीकरण हुन्छ, हुन्छ, हुन्छ उनले जाड दिँदै भने, संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई नै भएकाले सोनाहा जातीको सूचीकरण हुने कुरामा विश्वस्त हुन सम्पूर्ण सोनाहालाई आग्रह गरे ।

सोनाह जातीले सूचीकरणका लागि दिएको ज्ञापन पत्र बुझ्दै उनले भने, म आफै पुगेर प्रधानमन्त्रीलाई अनुरोध गर्नेछु ।

पञ्चायती तन्त्रको मानसिकता अझै अवशेषकारुपमा रहेकाले कर्मचारीहरूले तोडमोड गर्न सक्नेमा शङ्का रहेको बताउँदै प्रदेश प्रमुख शेरचनले पहिचानको लडाइ लडेर अदालतबाट परमादेश पाइसकेको अवस्थामा अव सोनाहाको सूचीकरण रोक्न नसक्ने ठोकुवा गरे ।

उनले भारत र अमेरिका जस्ता लोकतान्त्रिक मुलुकमा समेत सङ्घीय गणतन्त्र भएको नेपालको जस्तो समानुपातिक, समावेशी, अल्पसङ्ख्यक र पिछडिएकाहरूका लागि अधिकार नभएको बताउँदै तर त्यसको कार्यान्वयन हुन बाँकी रहेकोले दबाब सृजना गर्नुपर्ने बताए ।

ठुलाबडाले घरमा पालेको कुकुरले सदै मासुखान पाउने भन्दै प्रमुख शेरचनले सानाहरूले मिठो मसिनो खान चाड पर्व कुर्नुपर्छ वर्गीय लडाइँको अन्त्य नहुन्जेल यस्तो समस्या देखा परिरहने बताए ।

उनले आफ्ना, भाषा, संस्कृति, परम्परा जोगाएर पहिचान बचाइ राख्न पनि सोनाहा समुदायलाई आग्रह गरे ।

संविधान सभाका सदस्य हरि श्रीपाइलीले अहिलेसम्मको विभेदको क्षतिपूर्ति स्वरूप राज्यका सबै तहमा सोनाहा समुदायको प्रतिनिधित्व आवश्यक रहेको बताए ।

श्रीपाइलीले भने प्रदेश प्रमुख नै सूचीकरण हुनु पर्नेमा गम्भीर रहेको अवस्थामा सूचीकरण हुनेमा आफू ढुक्क रहेको बताउँदै तर पनि त्यसको लागि लडाइँ जारी राख्न थप रणनीति बनाउनु पर्ने बताए । उनले भने एकातिर सूचीकरणको सवाल उठाउनुपर्छ अर्कोतिर शिक्षा र रोजगारीमा पनि अव ध्यान दिनुपर्छ ।

सम्मेलनमा लोपोन्मुख र अल्पसङ्ख्यक सोनाहा जातीलाई जोगाउनका लागि राज्यले अनेक प्रयास गर्नु पर्ने माग प्राय सबै वक्ताहरूले गरेका थिए । जनगणना ०६८ अनुसार कैलाली, कञ्चनपुर र बर्दियामा गरेर सो समुदायको १२०५ जना मात्र रहेका छन् ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यद्धय तिलक शर्मा हिमाल र दिनेश थारुले विगतका शासकले सोनाहालाई थारु समुदाय नै हो भन्नाले सोनाहाको पहिचानमा समस्या भएकोले अव सोनाहाको पहिचानका लागि आफूहरू लड्ने बताए ।

सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्य न्याधिवक्ता कुलानन्द उपाध्यायले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सोनाहाका विषयमा सकारात्मक भएकोले प्रदेश सरकारको नीति तथा कार्यक्रममा सोनाहाका सवाल समेटिने बताए ।

उनले राज्यको अन्तिम लक्ष्य न्याय दिने हो त्यसैले सोनाहाको सूचीकरण हुनेमा ढुक्क रहन सो समुदायलाई आग्रह गरे ।

नदीमा बालुवा छानेर सुन खोज्ने, माछा मार्ने, डुङ्गा चलाउने सो समुदायले सूचीकरण नहुँदा कठिनाइ भएको बताउँदै आएको छ । नेपालको संविधान २०७२ को धारा १७ को मौलिक अधिकारमा परम्परागत पेशा अँगाल्न पाउने सुनिश्चितता गरिएको छ ।

कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले सोनाहा जातीको पहिचान उत्थान र विकासका लागि राज्यले ध्यान दिनुपर्ने भन्दै परम्परागत पेशालाई जोगाउन आफू लागि पर्ने बताए ।

सोही कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष खुसीराम चौधरी, वडा नम्बर ८ का अध्यक्ष चिन्तामणि आचार्य, घोडाघोडी नगरपालिका कैलालीका सदस्य राधा सोनाहा, भजनी नगरपालिकाका कार्यपालिका सदस्य कमला ज्ञवाली लगायतले सम्मेलनको सफलताको लागि शुभकामना दिएका थिए ।

सोनाहा समाजका अध्यक्ष बलबहादुर सोनाहाको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बर्दिया, कैलाली र कञ्चनपुरका सोनाहाहरू सहभागी थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्