विश्व रक्तदाता दिवस एक प्रतिशतले मात्रै रक्तदान गरे अभाव हुँदैन



जेठ ३१ 

bc9bc4c9-8f11-40a9-b800-8a0c2f88bc9e

 

विश्व रक्तदाता दिवस बुधबार ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदै छ । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा। कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ पारेर सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन सुरु गरिएको हो ।
नेपाल सरकारको निर्णयबाट नेपाल रेडक्रस सोसाइटीले २०२३ साल साउन १२ गतेदेखि संस्थागत रुपमा रक्तसञ्चार कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ । रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाताको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा पुर्‍याउँदै आएको छ ।
नेपालमा अहिले देशभरि एक दिनमा झन्डै दुई हजारजना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रको अनुमान छ । ७२ जिल्लामा १०५ स्थानबाट रक्तसञ्चार सेवा पुर्‍याउँदै आएको छ । आवश्यकता र मागबमोजिम केन्द्रीय, क्षेत्रीय, जिल्ला, अस्पताल इकाई र आकस्मिक स्तरको रक्तसञ्चार केन्द्रबाट सेवा पुर्‍याउँदै आएको रेडक्रसले जनाएको छ ।
विभिन्न आविष्कारको बाबजुद पनि कृत्रिम रगत बनाउन सकिएको छैन । त्यसैले स्वस्थ व्यक्तिले दान गरेको रगत नै आवश्यक पर्ने बिरामीका लागि वरदान साबित भएको छ । यसरी मानव जीवन बचाउने रक्तदानलाई सुरक्षित र स्वयम्सेवी रुपमा अभिवृद्धि गर्नका लागि विविध कार्यक्रमलाई निरन्तरता दिन जरुरी देखिन्छ ।
विश्व स्वास्थ्य संगठन  डब्लुएचओ ले नेपालमा दुई वर्षअघिको भूकम्पका कारण रगतको माग बढेको र स्वयम्सेवी रक्तदाताको सहयोगले नेपालमा रगतको दीगो व्यवस्थापन गर्न सकिएको भन्दै सहयोगी सबैलाई धन्यावाद दिएको छ ।
यस्तै डब्लुएचओले भविष्यमा आउन सक्ने विपत्तिको अवस्थामा तयार रहनका लागि रक्तदानका लागि अहिले नै अग्रसर हुन सबैसँग आग्रह गरेको छ । विपद कहिले र कहाँ आउँछ भन्ने थाहा नभएपछि त्यस्तो विपदका पीडितलाई रगतको अवाश्यकता पर्ने भएकाले त्यसको पूर्वतयारी अहिले देखि नै गर्नु सबैको कर्तव्य रहेको डब्लुएचओको भनाई छ ।
विश्वका धेरैजसो देशमा देशको जनसंख्याको एक प्रतिशतले रक्तदान गरेमा रगतको आधारभुत माग पुग्ने गरेको छ । यस्तै अहिले विश्वका ५७ देशमा मागको शतप्रतिशत रगत स्वयम्सेवी रक्तदाताबाट संकलन हुने गरेको छ । महिला, बालबालिका तथा वृद्धवृद्धामा रगतको माग बढी हुने भएकाले उनीहरुलाई रगतको पहुँचमा राख्न सबैले जोड दिनुपर्ने डब्लुएचओले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्