दुबईमा अलपत्र सात नेपालीको उद्धार



पर्सा । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात् घर फर्केका छन् ।

बहुदरमाईका नगर प्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगर प्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजार, मुकेश साह र राम अयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन् ।

एजेन्ट सुरेन्द्र यादवमार्फत झुकाएर पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि युवा केही समयअघि दुबई गएका थिए । दुबई भ्रमणमा गएका नगर प्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन् । नगर प्रमुख साहले भने, ‘मेरो दुबई यात्रा सात दिनको थियो, तर युवाहरूका बारेमा थाहा पाएपछि मैले भ्रमण तीन दिनमै छोट्याएँ, युवाहरूको उद्धार गरी घर फकाईएको छ ।’

नगर प्रमुख साहले दसैँ बिदामा दुबई घुम्न गएका बेला त्यहाँ आफ्नै गाउँका युवा अलपत्र परेको थाहा पाएपछि आफ्नो भ्रमण समयावधि छोट्याएर उनीहरूलाई उद्धार गरी घर फर्काएका हुन् । नगर प्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमै अलपत्र परेको आफूले थाहा पाएकाले उनीहरूलाई पनि घर फर्काउन पहल गर्ने जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्