जनमत पार्टीका १७ जनाविरुद्ध ‘मुद्दा’



काठमाडौं। खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहकलाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका १७ जनामाथि प्रहरीले आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।

उनीहरूउपर आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गराउन अदालतमा पेस गरिएको धनुषा प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार प्रमुख कुशवाहकमाथि दुर्व्यवहार र कार्यालयमा तोडफोड गर्ने अधिकांश सिराहा, सर्लाही र महोत्तरीका छन्। मुद्दा दर्ता गरिएकोमा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहक, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत सङ्घका अध्यक्ष विजय यादव, नेता सञ्जय प्रधान, धनिक लाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जयकुमार सिंह, सञ्जय साह, महेशकुमार यादव, अमरनाथ साह र सुन्दर रहेको डिएसपी बस्नेतले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा टोलमा जनमत पार्टीका अध्यक्ष राउत बस्छन्। यो बाटो दुरुस्त पारिदिन जनमत पार्टीले ज्ञापन पत्रसमेत बुझाएको थियो। तर, ठेक्कामार्फत काम भइरहेको उक्त सडक दुरुस्त हुन समय लाग्ने जवाफ फर्काएपछि जनमतका कार्यकर्ता चिढिएका थिए। आफ्नो कुरा नमानेको झोँकमा जनमतका कार्यकर्ताहरू प्रमुख कुशवाहकमाथि उनका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए।

पक्राउ गरी मुद्दा चलाइएका १७ जना दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था गरिएको छ। दफा ३ मा भनिएको छ, ‘(ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरू कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनेछ।’

संहिताअनुसार हुल हुज्जत गरी वा नगरी अनधिकृत रूपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिई प्रवेश गरेमा वा अनुमति लिई प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरिरहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछ।

कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन नहुने प्रावधान छ। जुन व्यक्तिको स्वामित्व वा कब्जामा सम्पत्ति रहेको छ, त्यस्तो व्यक्तिलाई डर त्रास देखाउने, अपमान गर्ने गर्नुहुँदैन। कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ।

कर्मचारी ट्रेड युनियनद्वारा कारबाही माग

नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहकमाथि सिके राउतका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

अर्धनग्न बनाएर नगर परिक्रमा गराउनु गैर कानुनी र अराजकता भएको भन्दै युनियनले विरोध गरेको छ। आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष देवेन्द्र मिश्रले कुनै राष्ट्रसेवक कर्मचारीले गल्ती गरे उसलाई दण्डित गर्ने कानुनी प्रावधान हुँदाहुँदै सिके राउतका कार्यकर्ताले कानुन नै हातमा लिएर गुन्डा शैली देखाउनु अराजकता भएको बताए।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी कारबाही हुने बताए। ‘राष्ट्रसेवक कर्मचारीमाथि गरिएको यो घटना आपराधिक मात्र नभई अमानवीय पनि हो। समस्या भए शान्तिपूर्ण ढङ्गले समाधान गर्नुपर्नेमा उनीहरूले जे गरे, त्यो भर्त्सनायोग्य र अमानवीय छ,’ उनले भने।

राउत नेतृत्वको ‘स्वतन्त्र मधेस गठबन्धन’ ले अलगाववादी नारा त्यागेको जनाउँदै २०७५ फागुन २४ गते सरकारसँग सम्झौता गर्दै मूलधारको राजनीतिमा अवतरण गरेको थियो। त्यसपछि राउतले जनमत पार्टी गठन गरेका थिए। त्यो बेला नेपालको कानुन र संविधान अनुसारको राजनीतिक गतिविधि गर्ने प्रतिबद्धता गरेका राउत नेतृत्वको जनमत पार्टी जनकपुरमा कानुन हातमा लिने प्रयास गरेपछि चौतर्फी आलोचना भइरहेको छ।

कर्मचारीले गल्ती गरेको छ भने त्यसलाई सजाय दिने धेरै निकाय छन्। तर, एउटा राजनीतिक दलका कार्यकर्ताले कानुन हातमा लिएर अराजकता गर्न नहुने आवाज उठिरहेको छ। भूमिगत शैलीमा कर्मचारीमाथि हातपात र कार्यालय तोडफोड गर्नु उचित नहुने पेसागत सङ्घ सङ्गठनको भनाइ छ। घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि ती सङ्घ सङ्गठनले माग गरेका छन्। आजको नागरिक दैनिकमा समाचार छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्