क्रोएसिया रोजगार नेपाल र बंगलादेशबाट स्थगित, यस्तो छ कारण



काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीको लागि क्रोएशिया जान चाहने युवाहरूको सङ्ख्या बढेसँगै अवैध क्रियाकलाप बढेको पाइएपछि क्रोएसिया रोजगारी नै प्रभावित भएको छ । भारतस्थित नेपाल र बङ्गलादेश समेत हेर्ने क्रोएसियाको दूतावासले नेपाल र बङ्गलादेशबाट दूतावास पुगेका कागजातहरूमा स्टाम्प गर्ने कार्य रोकिएको छ । दूतावास स्रोतबाट प्राप्त जानकारी अनुसार दूतावासमा नेपाल र बङ्गलादेशबाट क्रोएसिया रोजगारको लागि भन्दै अवैधानिक कागजातहरू पेश भएको बताइएको छ । नेपालबाट पुलिस रिपोर्ट र परराष्ट्रको प्रमाणीकरणको समेत नक्कली कागजात दूतावासमा रिपोर्ट भएका छन् । त्यसो त रोजगारदाताको वर्कपरमिटहरु समेत नक्कली हुने गरेका छन् । 

क्रोएसिया रोजगारको काममा सपोर्ट गर्दै आएका एक म्यानपावर व्यवसायीले बताए अनुसार नेपालबाट रोजगारको लागि जान प्रक्रिया सुरु गरेका युवाहरू आफैले क्रोएसियाको रोजगारदाताले दिएको भनिएको वर्क परमिट सही छ वा गलत भन्नेबारे जानकारी लिन दुतावासलाई इमेल पठाउन सकिन्छ । जसलाई दुतावासके भेरिफाइ गरी १/२ दिनमै रिप्लाई पठाउने गरेको छ । पछिल्लो समय दूतावासको इमेलमा युवाहरूले कयौँ वर्कपरमिट बारे जानकारी लिने गरेका छन् । त्यसरी जानकारी लिँदा दूतावासले क्रोएसिया रोजगारको लागि आउने कयौँ वर्कपरमिटहरु फेक पाएको छ । 

क्रोएसिया रोजगारमा पठाउन सक्रिय एजेन्टहरुले युवाहरूसँग आर्थिक लेनदेन गर्नको लागि तथा ठगी गर्नको लागि फेक वर्क परमिट बनाई दिने र पैसा लिने गरेका छन् । जसलाई युवाहरूले भेरिफाई गर्ने क्रममा दूतावासमा सो को जानकारी लिने गरेका छन्, यस क्रममा पनि दूतावासले नेपाल र बङ्गलादेशमा क्रोएसिया रोजगारको नाममा ठगी तथा अवैधानिक काम बढेको नियमित रिपोर्ट पाइरहेको छ । 

पछिल्लो समय नेपालमा कोरोना महामारीको जोखिम घटेर वैदेशिक रोजगार चलायमान भएसँगै एजेन्टहरु सक्रिय हुँदा अवैधानिक कागजातका रिपोर्ट तथा प्रक्रियाकै क्रममा फेक पुलिस रिपोर्ट र वर्क परमिटहरु दूतावासमा पुग्ने क्रम बढेको एक म्यानपावर व्यवसायीले बताए । ति व्यवसायी अनुसार फेक डकुमेन्टका कारण दूतावासमा कामको चाप बढेको छ । एकै दिनमा दुई सयको हाराहारीमा स्टाम्पको लागि डकुमेन्ट सब्मिट हुने गरेको छ । ति व्यवसायीले केही एजेन्टहरुले पुलिस रिपोर्टमा दूतावासको छाप लगाएकै आधारमा समेत नेपालमा युवाहरूसँग पैसा अशुल्ने गरेको बताए  । उनले भने ‘वर्क परमिट नआएसम्म क्रोएसिया रोजगारको लागि ग्यारेन्टी हुँदैन । केही एजेन्टहरुले पुलिस रिपोर्टमा दूतावासको छाप लगाएको देखाएर दूतावासमा काम हुँदै गरेको भनी पैसा अशुली गरेका छन् ।’ ति व्यवसायीका अनुसार पहिले काठमाडौँ तथा भारतमा रहेको VFS ले क्रोएसियाको वर्क परमिटको भेरिफाई गरेर मात्र दूतावासमा स्टाम्पको लागि पठाउने गरेकोमा अहिले VFS कागज हेरेकै आधारमा VFS प्रक्रिया पुरा गरी दूतावासमा पठाउने गरेको कारण दूतावासमा धेरै भन्दा धेरै फेक कागजातहरू पुगेका छन् ।

क्रोएसिया रोजगारमा पठाउँदै आएका अर्का एक व्यवसायीका अनुसार पछिल्लो समय नेपालका एजेन्टहरुले सिधा क्रोएसिया स्थित कम्पनीसँग नभई भारतका एजेन्टहरु मार्फत क्रोएसिया रोजगारको काम गर्दा धेरै अवैधानिक काम भएका छन् । डिमाण्डमा तेश्रो पक्ष सक्रिय हुँदा आर्थिक अशुलीको लागि अवैधानिक कामहरु बढेको उनको बुझाई छ । दूतावासले स्टाम्प हान्न रोकेसंगै झन्डै ८ सयको हाराहारीमा नेपालबाट क्रोएसिया रोजगारको प्रक्रियामा रहेका युवाहरू अन्यौलमा परेको उनले बताए । 

गत आर्थिक वर्षमा मात्र नेपालबाट एक हजार ७३ जनाले क्रोएसिया रोजगारको लागि व्यक्तिगत श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको साउन र भदौमा क्रमशः २२४ जना र २९० जना गरी दुई महिनाको अवधिमै ५१४ जनाले क्रोएसिया रोजगारको लागि श्रम कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिएका छन् । जस मध्य महिलाको सङ्ख्या १२६ जना रहेको छ । 

क्रोएसियामा रोजगारको लागि म्यानपावरहरूले डिमाण्ड निकाल्न सकेका छैनन् । संस्थागत रूपमा डिमाण्ड पाउन सम्बन्धित देशमा नेपाली दूतावास हुनुपर्ने र दूतावासले प्रमाणीकरण गरेपछि मात्र म्यानपावरहरूले संस्थागत रूपमै क्रोएसिया रोजगारमा पठाउन पाउँछन् । तर संस्थागत रूपमा रोजगारमा पठाउन नसकेपछि व्यक्तिगत श्रम स्वीकृतिमा क्रोएसिया रोजगारमा पठाइँदै आएको छ । यस कार्यमा केही म्यानपावर व्यवसायीको समेत संलग्नता छ । वैदेशिक रोजगारीको लागि सरकारले संस्थागत रूपमा (म्यानपावर कम्पनी मार्फत)एक सय १० देश र व्यक्तिगत रूपमा जानको लागि एक सय ७२ देश खुला गरेको छ । जस अन्तर्गत क्रोएसियामा पनि संस्थागत रूपमा नै जान सकिने व्यवस्था छ । तर क्रोएसियाको लागि नेपालमा सञ्चालित कुनै पनि म्यानपावर कम्पनीले आधिकारिक रूपमा डिमाण्डको पुर्व स्वीकृति लिएका छैनन् । हालको नीति अनुसार म्यानपावर (संस्थागत) र सरकार (जिटुजि, उदाहरण इजरायल र दक्षिण कोरिया) बाहेक अरूलाई वैदेशिक रोजगारमा पठाउन स्वीकृति छैन । यस्तो अवस्थामा क्रोएसिया जान चाहने युवाहरूले कुनै व्यक्तिलाई विश्वास गरेर उसैलाई अग्रिम ५० हजार देखि १ लाखसम्म र वर्क परमिट पाएपछि ५ देखि ८ लाखसम्म तिरेर क्रोएसिया जान पर्ने बाध्यता छ । यो बाध्यताको कारण प्रक्रिया सुरु गर्दा अग्रिम बुझाएको पैसाको कारण धेरै युवाहरू समस्यामा पर्ने गरेका छन् । कतिपयले क्रोएसिया पठाउने भन्दै पैसा लिने र प्रक्रिया नै सुरु नगरेर १/२  वर्षसम्म झुलाउने गरेका छन् भने कतिपयले अवैध कागजात देखाई  कयौँ युवाहरूसँग आर्थिक अशुली गरेर सम्पर्क विहीन समेत हुने गरेका छन् । 

साझा सबाल मिडियाले संचालन गरेको ‘वैदेशिक रोजगार एप’ मार्फत आएका इमेलहरूमा समेत क्रोएसियामा रोजगारीको लागि भन्दै अग्रिम रूपमा ५० हजार देखि १ लाख डिपोजिट मागिएको, डिमाण्ड तथा वर्क परमिट सही हो कि होइन जस्ता जस्ता गुनासाहरू आउने गरेका छन् । ‘नजाउँ अरु गएका छन्, श्रम स्वीकृति लिएरै गएका छन्, जाउँ भनेर प्रक्रिया सुरु गर्यो श्रम स्वीकृति नआउँदासम्म अग्रिम बुझाएको पैसा ठगी हुन्छ कि भन्दै टाउको दुखाउनु पर्ने बाध्यता छ । संस्थागत रूपमा जान पाउने भएको भए कम्तिमा पैसा फसिहाले पनि फिर्ता लिने आधार त हुन्थ्यो ?’ एक युवाले सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेका छन् । अनिल अधिकारीले लेखेको यो समाचार साझा सवालबाट जस्ताको तेस्तै साभार  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्