आबुधावी घोषणापत्र जारी, कामदारको सीप र सुरक्षामाथि विशेष जोड



छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डायलग’को बैठकले आप्रवासी कामदारको सीप र सुरक्षामाथि विशेष जोड दिन आग्रह गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारदेखि आयोजित छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डायलग’को बैठकले बुधबार साँझ आबुधावी घोषणापत्र जारी गरेको छ ।

 

घोषणापत्रमा वैधानिक कामदारको सीप विकास र सामाजिक सुरक्षा, रोजगारको पहिचान र सुरक्षा तथा आप्रवासी कामदार प्रशासनका लागि डिजिटाइजेशनमा जोड दिएको छ । 

 

मन्त्री स्तरीय बैठकले आबुधावी डायलगको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गरेको छ । पाकिस्तानलाई आबुधाबी डायलगको अध्यक्षताका लागि नेपालले विशेष आग्रह गरेकोे थियो । अध्यक्षता ग्रहण गर्दै पाकिस्तानका उद्योग मन्त्री मखदम खुश्रो बख्तयारले नेपालप्रति विशेष आभार जनाए ।

 

आबुधाबी डायलगको मन्त्री स्तरीय औपचारिक कार्यक्रम बुधबार साँझ सकिए पनि बिहीबार आयोजक युएईले अतिथिहरूलाई दिनभर नै एक्स्पो २०२० भ्रमण गराउने छ । 

 

बैठकलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गरेका छन् । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका कामदारको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका छन् । 

 

त्यसै गरी मन्त्री श्रेष्ठले न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान बस्न व्यवस्था गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, विज्ञान र प्रविधिमा आएको नवीनता अनुसार कामदारको सीप र क्षमता विकासका कार्यक्रम गर्नुपर्ने, आप्रवासी कामदारको कोरोना परीक्षण निःशुल्क गर्नुपर्ने, क्वारेनटिन तथा आइसोलेसन सेन्टरमा कुनै शुल्क नलिने व्यवस्था गर्न  प्रस्ताव गरेका छन् । 

 

आबुधाबी डायलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागी छन् । यो समाचार मध्यान्न दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्