दक्षिण कोरिया कोभिडसँगै बाँच्न सिक्दै: खुल्न थाले रेस्टुरेन्ट, क्याफे र जिम हल



एजेन्सी | दक्षिण कोरियाले कोभिडको कारण दर्साउँदै रेस्टुरेन्ट, होटल क्याफेलगायत बढी जमघट हुने स्थानमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ । कोभिडसँगै जनजीवन सामान्य बनाउने नीतिअन्तर्गत सोमबारदेखि लागू हुने गरी ती क्षेत्र खुकुलो बनाइएको हो । 

खोप लगाएको प्रमाणका आधारमा बढी भिडभाड हुने स्थान जिम हल, साउना र बारहरुमा सर्वसाधारणलाई अनुमति दिइने भएको छ । 

सरकारले फेब्रुअरीको अन्त्यसम्ममा सबै प्रतिबन्ध हटाउने योजना गरेको छ । दक्षिण कोरियामा अहिले पनि कोभिड सङ्क्रमण बढ्दो छ । तर, सावधानी र सुरक्षा मापदण्ड कार्यान्वयन भएको कडाइका कारण सङ्क्रमणबाट मृत्यु हुने दर भने अन्य देशहरूको तुलनामा न्यून छ । 

करिब ५ करोड २० लाख जनसङ्ख्या भएको दक्षिण कोरियामा अहिलेसम्म ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै, ७९ प्रतिशतभन्दा बढीले कम्तिमा पहिलो डोज लगाएका छन् । 

दक्षिण कोरियामा जुलाईदेखि कोरोनाको चौथो कहर सुरु भएको थियो । पुनः सङ्क्रमण फैलिएपछि भिडभाडमा रोक लगाउनुका साथै सामाजिक दूरीलगायत रोग नियन्त्रणका उपायलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गरिएको थियो ।

घरबाहिर हुने खेलकुदका कार्यक्रममा ५० प्रतिशतसम्म दर्शकलाई मैदानमा खेल हेर्न अनुमति दिइएको छ ।  त्यस्तै, सामाजिक दूरी कायम गर्दै कुनै पनि कन्सर्टमा १०० जनासम्म सहभागी हुन पाउनेछन् । नयाँ मापदण्डअनुसार खोप लागेका व्यक्तिले मात्र नाट्यशाला र चलचित्र हलभित्र पपकर्न र सोडा खान पाउनेछन् । 

संक्रमणका दृष्टिले बढी जोखिमयुक्त बार, नाइट क्लब, जीम हल र साउनामा जानुअघि खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । खोप नलगाएका व्यक्तिको हकमा पछिल्लो २४ घन्टामा कोभिड परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ । साझा सवालबाट साभार

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्