पासपोर्ट बनाउन राति १ बजेदेखि लाइन, मंसिर १ देखि ई-पासपोर्ट !



काठमाडौँ | राहदानी विभागमा राहदानी बनाउनेहरूको भिड लागेको छ । विभागमा भीड लागेपछि राहदानी बनाउनको लागि युवाहरू राति १ बजेदेखि नै लाइन लाग्न पुगेका छन् । 

राहदानी विभागले ई पासपोर्ट आउन लागेकोले अति महत्त्वपूर्ण नभई पासपोर्ट नबनाउन भनेको छ तर  पछिल्लो समय सेवाग्राहीहरूको राति देखिनै लाइन देखिन थालेको छ । विभागका अनुसार अमेरिका जानको लागि इडिभी भर्नेहरूको कारण विभागमा राहदानी बनाउनेहरूको भिड लागेको हो ।

नारायणहिटीस्थित विभागको कार्यालयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिन सेवाग्राहीको भीड बढ्दै गर्दा विभाग त्रिपुरेश्वरस्थित नवनिर्मित भवनमा ई-पासपोर्ट छपाइको पूर्व तयारी भइरहेको छ । विभागले मङ्सिर १ गतेदेखि आंशिक रूपमा ई-पासपोर्टको छपाइ सुरु गर्नेछ । 

विभागले ई-पासपोर्ट केही समयभित्र जारी गरिने हुँदा अत्यावश्यक नहुँदा पासपोर्ट नबनाउन सेवाग्राहीहरूलाई आग्रह गर्दै आएको छ । विभागले केही समय कुरेमा अन्तर्राष्ट्रिय स्तरको ई-पासपोर्ट बनाउन सक्ने जनाएको छ । तर अमेरिकी डिभी चिट्ठाको लागि पासपोर्ट अनिवार्य भएको कारण पासपोर्ट बनाउनको लागि जानेहरूको भीड लाग्ने गरेको छ । डिभी भर्ने म्याद ९ दिन मात्र बाँकी छँदा त्यसको बिचमा तिहार समेत परेको छ । साझासवालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्