अस्ताउन लागेको गणतन्त्र



  • दीपक राज जोशी

नेपाली जनताले उत्साहसाथ परिवर्तनका खातिर दिलोज्यान दिए । तर अब उनीहरू नै आफैले ल्याएको परिवर्तनले आफ्ना सपना पूरा नहुनेमा विश्वस्त हुँदै छन् गएका । बढ्दो गतिहीनता, भ्रष्टाचार, वर्गीय असमानता, धर्म र संस्कृतिको पतन केही त्यस्ता उदाहरण हुन्, जो हाम्रो समाजमा धेरै नै देखिन्छन् । यी सबैको मुख्य कारण गन्तव्यहीन राजनैतिक सङ्घर्ष नै हो । यिनै हुन्, नेपाली जनजीवनका खतरनाक वास्तविकता ।

 

जनताहरू यस्तो निष्कर्षमा पुगेका छन् कि राजतन्त्र लोकतन्त्रभन्दा राम्रो थियो । कमसेकम एउटा राजाले राज्य गरेको थियो । आज जस्तो सयौँ राजाको लावालस्कर त थिएन ।

सरकारले चलाएका कलकारखाना बन्द छन् । आर्थिक वृद्धि ढिलो छ । असमानता बढ्दो छ । निर्यातभन्दा आयात दिन–प्रतिदिन बढ्दै छ । मन्दिर भत्किएका छन् भने नयाँ चर्च दिनानुदिन थपिँदै छन् । धर्म निरपेक्षताको नारा लिएर भ्रम फैलाउने काम भइरहेको छ, जसले सांस्कृतिक पाटोलाई ओझेलमा पारेको छ । हरेक राजनैतिक निर्णयले समाजलाई विभाजन गर्दै छ । जनताहरू यस्तो निष्कर्षमा पुगेका छन् कि राजतन्त्र लोकतन्त्रभन्दा राम्रो थियो । कमसेकम एउटा राजाले राज्य गरेको थियो । आज जस्तो सयौँ राजाको लावालस्कर त थिएन ।

हामीलाई थाहा छ, नेताहरू गलत छन् । तैपनि हामी उनीहरूको कुरा सुनिरहेका छौँ । जे भइरहेको छ त्यसको समाधान छ तर समाधान समस्याको माग हो भन्दै समाधान प्रस्ताव गर्दैमा समस्याको समाधान हुँदैन । खस्कँदै गएको लोकतन्त्रलाई बचाउनका खातिर हामी हाम्रो समाजलाई नष्ट गर्न पनि त सक्दैनौँ । लोकतान्त्रिक राजनीतिमा नैतिकताको खडेरी परेको छ । त्यही खडेरीमा अन्न बेच्नेहरू लोकतान्त्रिक जीवन बाँचिरहेका छन् र फाइदा उठाइरहेछन् खडेरीको, ताकि व्यापार फस्टाउँदै जाओस् ।

जब क्षमताहीनहरूले राजनीति गर्छन् तब त्यस समाजमा थुप्रै समस्याहरू देखा पर्छन् । अदालतले न्याय दिँदैन, पुलिसले संरक्षण गर्दैन । राजनीतिसँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरू दिन–प्रतिदिन गहिरिँदै छन् । समृद्धि र सुशासन नारामा मात्र सीमित भएका छन् । भ्रष्टाचारले गर्दा देशको चरम दुरावस्था छ । राजनीतिकर्मीहरू समाजका विचारकर्ता, प्रारम्भकर्ता, परेको बेला आलोचक, समाजका सेवक र समाधान प्रदायक हुनुपर्ने हो तर यहाँ राजनीतिकर्मीहरू केवल निजी स्वार्थका कैदीबाहेक अरू केही हुन सकेका छैनन् ।

हाम्रो प्रजातान्त्रिक इतिहासमा नौलो पाना कहिल्यै थपिएन । विभिन्न कालखण्डमा कसैले चुनाव जिते कसैले हारे, नियम कानुन बनाए, त्यसलाई परिवर्तन गरे, नयाँ आशा लाग्दा नेता आए र गए, चार चोटि संविधान बन्यो तर समाज जहाँको त्यहीँ रह्यो । आखिर समाज भनेको व्यक्ति व्यक्तिबिचको सम्बन्ध नै त हो । जब यी सम्बन्धमा नैतिकताको अभाव, क्रूरता, महत्त्वाकाङ्क्षा हुन्छ तब यिनै कुराहरूलाई समाजले प्रतिबिम्बित गर्ने गर्दछ । यो प्रतिबिम्ब हाम्रो समाजमा सामाजिक सङ्गठनलाई राजनीतिक रङ्ग दिएर गरिएको दुरुपयोगको परिणाम हो ।

मौलिक प्रश्नहरूको जवाफ हरेक राजनीतिकर्मीका लागि वास्तविकतासँग सम्बन्धित हुनुपर्छ । हामीकहाँ वास्तविकतालाई आफ्नो राजनैतिक विचारका आधारमा विभिन्न तरिकामा व्यक्त गरिन्छ । त्यसले आम नागरिकहरू लामो समयदेखि राजनीति र राजनीतिकर्मीसँग असन्तुष्ट हुँदै आएका छन् ।

देशलाई बाहिरी तत्त्वबाट भन्दा बढी देशभित्रै रहेका निहित स्वार्थ भएकाहरूबाट बचाउने बेला आएको छ । देश रहे प्रजातन्त्र, गणतन्त्र रहन्छ । देश नै रहेन भने यिनको के काम ? धेरै चोटि लेखिएका संविधानले निम्त्याएको खिचातानी, जनयुद्ध र अरू युद्धमा नेपाली मारिएका मारिएकै छन् । त्यसको अर्थ परिवर्तन अपरिहार्य छ भन्ने नै हो । अब एक चोटि सबै नेपाली नेता आफ्नो पार्टी जिताउन नभएर देश बचाउनका लागि एकजुट हुने हो कि !

जनतालाई पिउने पानी नभएका बेला ट्याङ्करको पानी खरिद गरेर गाडी धुने शासक रहेसम्म नेपालको भविष्य उज्ज्वल हुनेछैन । शासक नै शोषक भएपछि शासकका विरुद्ध लड्नुभन्दा अरू विकल्प देखिँदैनन् । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने शान्ति प्रक्रिया एउटा महँगो कार्य हो । त्यसैले नेपालका राजनीतिज्ञहरू हरेक कालखण्डमा हिंसाका साथमा रमाउँदै सत्तामा पुग्ने बाटो खोजिरहेका हुन्छन् ।

यता नेपाली जनताहरू शान्ति र सुशासनका लागि मतदान गर्दै आए पनि रगतको खोलो बग्ने क्रम रोकिएको छैन । हाम्रा भ्रष्ट र असक्षम राजनीतिक वर्गलाई अनुशासनको दायरामा ल्याएर समाजलाई विखण्डनबाट बचाई परिवर्तनको दिशातिर उन्मुख गर्दै विकासका बाटोमा लैजाने बेला भएको छ।

वर्तमान लोकतन्त्र बिस्तारै विफल हुँदै छ । हामी नेपाली जनता राम्रो विचारका लागि भोट नदिएर पार्टीको विचारधारालाई भोट दिँदै आएका छौँ । विचारधारा दिने पार्टीले यहाँ देशलाई अगाडि बढाउन राम्रो विचार दिन असमर्थ भएको छ । समाजलाई भलो हुने खालको विचारका अभावमा नेपालको प्रजातन्त्र र लोकतन्त्र केवल मतदान प्रकियामा मात्र खुम्चिएको छ ।

मतदान प्रक्रिया भनेको सङ्ख्यात्मक बहुमत मात्र हो । नेकपालाई जनताले दुई तिहाइ मत दिएर पूर्ण जनादेश नदिएका होइनन् तर त्यो जनादेशको उनीहरूले पार्टी भित्र कै खिचातानी ले गर्दा खिल्ली उदाउने काम मात्र गरे । त्यस पछि जनताले दुई तिहाइ मत दिएको पूर्ण जनादेश को सट्टा परमादेश जारी गरेर  सरकार  गठन  भयो ।  निरकुंश पंचायती शासन व्यवस्था मा पनि  नभएको  कार्य ले गणतन्त्र खिल्ली  उडायो । जनताले पाएको संवैधानिक हकलाई बेवास्ता गर्न, जनतालाई दबाउन अनि विपक्षीलाई दुस्मनका रूपमा हेर्नका लागि जनताले दुई तिहाइ मत दिएका होइनन् । पूर्ण बहुमत भनेको अधिनायकवादतिरको सिकार खेल्ने साँचो होइन ।

लोकतान्त्रिक सरकारको आधारभूत सिद्धान्त भनेको कानुनको शासन, व्यक्तिगत स्वतन्त्रता र नागरिकको सम्मान हो । दमनका विरुद्ध बोल्ने लोकतान्त्रिक अधिकार मात्र नभएर नागरिक कर्तव्य र दायित्व पनि हो । नेपाल अहिले यस्तो परिस्थितिमा पुगेको छ जहाँ लोकतान्त्रिक मूल्य र मानव अधिकारलाई व्यावहारिक रूपमा बेवास्ता गरिएको छ । लोकतान्त्रिक मान्यताबाट टाढा गएका कारणले बिस्तारै निर्वाचित नेताहरूलाई जनताले अस्वीकार गर्न थालेका छन् । कतै देशको भविष्य र लोकतान्त्रिक अधिकारका लागि जनताले पुनस् लड्नुपर्ने स्थिति नआउला भन्न सकिन्न।

 

३१ वर्षको प्रजातान्त्रिक अभ्यासमा नेपाली जनताले केवल छलकपट मात्र भोगेका छन् । पद र पैसाका लागि नेपाल यति धरै राजनैतिक प्रयोग भयो जुन अरू मुलुकमा बिरलै हुने गर्छ हाम्रो समाजमा आज भ्रष्टाचार राजनीतिको एउटा महत्त्वपूर्ण औजार भएको छ। संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । देशको विकास र समृद्धि हेर्न कतै जानु पर्दैन। जब जनतालाई काठमाडौँ बाट नौबिसे पुग्न ५ घण्टा लाग्छ तब विकास र समृद्धि त्यहीँ देखिन्छ । जसले जे भाषण गरे पनि गरिबको मुखमा रासन पुग्ने छैन। यहाँ रासन शासन गर्ने लागि मात्रै हो। ३१ वर्षको विभिन्न सरकार र ७ वटा संविधानले जनतालाई सास्ती भन्दा अरू केही दिएको छैन। जनता लाई लुटिन , शोषित हूने , दुख पाउने बानी परेको छ।यहाँ सरकार होइन सङ्घर्ष छ। यहाँ शासन होइन सास्ती छ। विकास होइन विनाश छ। समृद्धि होइन दुर्गति छ।अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन ।

 

हामी सबैलाई थाहा छ कि राजनैतिक पार्टीप्रति नागरिकको अविश्वास दिन–प्रतिदिन बढ्दै छ । लोकको कल्याण नगर्ने तन्त्रलाई कसरी लोकतन्त्र भन्ने ? यद्यपि लोकतान्त्रिक प्रणाली एउटा खराब प्रणाली हो, तैपनि यस प्रणालीलाई अहिलेको कालखण्डमा सर्वोत्तम प्रणाली भनिन्छ। सबैलाई मौलिक अधिकारमा समानता छ । संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । तीस वर्षमा पच्चिसओटा सरकारहरू, पटक पटक लोकतन्त्रका लागि लडाइँ, जनयुद्ध सबै नेपालले बेहोरिसक्यो । अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन ।

नेपालको लोकतन्त्र पटक पटक खतरामा पर्नुका दुई ओटा कारण छन्  पहिलो, नेपाली जनता लोकतन्त्रप्रति भोका छैनन् । दोस्रो, लोकतन्त्रको स्थायित्वका लागि समय लाग्छ र नेपाली जनतासँग धैर्य छैन।सामान्यतया हाम्रो जस्तो गरिब देशमा धरैभन्दा धरै असमानता हुन्छ । गरिबहरूका तुलनामा आर्थिक पुँजी, सांस्कृतिक पुँजी र सामाजिक पुँजी सङ्कलन धनीहरूको पन्जामा हुन्छ ।

जनताहरू विचारलाई मतदान नगरेर विचारधाराहरू दिनेलाई मतदान गर्छन् । लोकतन्त्रको मार्ग अगाडि बढाउन नसकिने सबैभन्दा महत्त्वपूर्ण पक्ष गरिबी हो ।अब गणतन्त्र हैन देश बचाउने बेला भएको छ । लुटतन्त्र, बलात्कार भ्रष्टाचार हुँदाहुँदै अब देशद्रोही पनि निक्ले । हुनेखाने परिवारका छोरी बुहारी र आसेपासेलाई मात्र गणतन्त्र आएछ । गरिब जस्ताको त्यस्तै छन् । राजनीति यस्तो खेल हो जहाँ राजनीति गर्नेहरूको न त कुनै स्थायी शत्रुहरू छन् न त कुनै स्थायी मित्रहरू नै । यहाँ हरेक कालखण्डमा उनीहरूको निहित स्वार्थ छ र त्यो स्वार्थ गरिब जनतालाई भर्याङ बनाएर मात्र पूर्ति हुन्छ र भइरहेको छ । स्वार्थपूर्ति गर्ने क्रममा सही वा गलतका बारेमा कहिल्यै विचार गरिँदैन ।

वास्तविक शत्रुको पहिचान गरेर त्यसका विरुद्ध एकजुट भएर लड्नुको सट्टा एक आपसमा लड्दै मिल्दै अधिकांश समय र ऊर्जा खर्च गरेर सत्तामा बसिरहुनु बाहेक राजनीतिकर्मीको अरू काम देखिएन ।आर्थिक विकास र त्यसको निरन्तरता नै हाम्रो समाजको महत्त्वपूर्ण मुद्दा हुनुपर्ने हो तर कतै व्यावहारिक नभएको राजनैतिक विचारधारा नै विकासको शत्रु भएको छ । ३१ वर्षसम्म आधारभूत आवश्यकता पनि पूर्ति गर्न नसक्ने देश अरूबाट होइन आफन्तबाटै गुलामी भइरहेको छ । आफ्नै हाम्रा दुस्मन भए । विभिन्न परिवर्तनमा देशलाई नै लुटेर बनेका नव धनाढ्य वर्ग प्रशस्तै भेटिन्छन् तर सिटामोल खान नपाएर जीवन गुमाउनु पर्नेहरूको जमात अझै पनि ठुलो छ ।

राजनीतिक रूपमा हामीले के पायौँ के गुमायौँ भन्दा पनि आर्थिक समृद्धिबिनाको राजनीतिक परिवर्तनले कुनै अर्थ नराख्ने रहेछ । आर्थिक विकास र त्यसको निरन्तरता नै हाम्रो समाजको महत्त्वपूर्ण सवाल हो ।

हाम्रो लोकतन्त्र थकित, भेदभावपूर्ण, तितो, अप्ठ्यारो र कहिलेकाहीँ विनाशकारी पनि छ । लोकतन्त्र एउटा प्रणाली हो, यो कसैले बनायो । या भनौँ हामीले आफ्नै समाजका आफन्तलाई मारेर ल्यायौँ । यसलाई हामीले बनायौँ र हामी बदल्न पनि सक्छौँ । यदि बदल्न सक्छौँ भने किन यसलाई अरू कुनै राम्रो प्रणालीमा प्रतिस्थापन गर्न कोसिस नगर्ने ? त्यसो गर्न सकेनौँ भने गणतन्त्र अस्ताउनेछ । स्वतन्त्रता अस्ताउनेछ ।

 

दीपकराज जोशी
(लेखक लेक्चरर र आइटी परामर्शदाता हुन्। उनी कपिद जोशीको नामले फिक्शन पनि लेख्छन्। उनी लाइ [email protected] मा सम्पर्क गर्न सकिन्छ।)

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्