पोर्चुगलमा नेपालीका अनेक दुःख



युरोपेली देश पोर्चुगल विश्वका साना मुलुकहरूमध्ये एक हो । तर, त्यही सानो देशमा आप्रवासीहरूको आकर्षण भने ठुलो छ । आप्रवासी कामदारका लागि खुकुलो नियम भएकैले पछिल्लो समय पोर्चुगल नेपाली युवाहरूको प्रमुख गन्तव्य बनेको छ । आप्रवासीका लागि सहज कानुन र नियम त छँदै छ, यो देशमा लगानी गर्न पनि उत्तिकै सहज रहेको जानकारहरू बताउँछन् । उसो त पोर्चुगलमा जग्गा वा घर किन्नका लागि कार्ड वा भिषाको आवश्यकता पर्दैन छ । पोर्चुगल पुगेर त्यहाँको व्यक्तिगत राजश्व नम्बर अर्थात् ट्याक्स नम्बर (फिनान्स नम्बर) लिएपछि १ वा २ हप्तामा नै घर जग्गा किन्न सकिने व्यवस्था छ भने चाहेको व्यवसाय पनि गर्न सकिन्छ ।

सामान्य कागजात पुर्‍याएपछि पोर्चुगलमा अस्थायी बसोबास अनुमति पत्र दिनेसँगै ५ वर्षमा पासपोर्टका लागि आवेदन पनि दिन सकिन्छ । पोर्चुगलमा जति सहज र सरल नियम कानुन भए पनि नेपालबाट जाने धेरैले भने समस्या भोग्ने गरेका छन् । विशेष गरी, पोर्चुगलमा नेपाली दूतावास नहुँदा नेपालीहरूले सास्तीको सामना गर्नुपरिरहेको पोर्चुगल निवासी गङ्गा बहादुर नेमकुल बताउँछन् । 

उनले पोर्चुगलमा अवैतनिक वाणिज्य दूतको मनोमानीका कारण पनि धेरै नेपालीले समस्या भोग्ने गरेको बताए । उनका अनुसार विदेशी भूमिमा नेपालीहरूको समस्यामा सहयोगका लागि चुनिएका प्रतिनिधि पात्रले आफूखुसी गर्ने गरेका कारण नेपालीहरूले झन्झट बेहोरिरहेका छन् । 

नेमकुलले आप्रवासीहरूले सामान्य कागजातका आधारमा अस्थायी बसोबासका लागि कार्ड प्रदान गरिने भए पनि त्यहाँ जन्मिने बच्चाहरूको नयाँ पासपोर्ट बनाउन भने ढिलासुस्ती हुने गरेको गुनासो गरे । यस्तै, उनले पोर्चुगलमा कुनै पनि नेपाली मुद्दा मामिलाको झन्झटमा फसेमा फ्रान्सबाट राजदूत आउनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् । राजदूत नहुँदा मुद्दा मामिलामा फसेका नेपालीहरूले फ्रान्सका राजदूतले पोर्चुगलको भ्रमण नगरी समस्याबाट मुक्ति नपाउने अवस्था रहेको नेपालीहरूको भनाइ छ ।  

पोर्चुगल जाने नेपालीहरूका लागि सबैभन्दा बढी समस्या भनेको कसैको मृत्यु भइहालेमा शव नेपाल पठाउन कठिन छ । नेमकुल कुनै घटनामा नेपालीको मृत्यु भएमा शव नेपाल पठाउन नै कठिन भएको बताउँछन् । लामो समयसम्म पहल गर्दा पनि शव पठाउन अप्ठ्यारो हुने गरेको समस्या सुनाउँदै उनले सुनाए । साभार : रातोपाटीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्