राष्ट्रिय जनगणना सुरुः ४४ हजार गणकमा ५० प्रतिशत महिला



काठमाडौँ। मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदै छ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्याङ्क विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो।

‘अहिलेको जनगणनामा सहभागी भएनौँ भने हामी राष्ट्रिय तथ्याङ्कमा छुट्छौँ’,विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले भने।कोही पनि नागरिक जनगणनामा नछुटुन् भन्नेतर्फ विभाग सचेत रहेको उनले बताए।जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको विवरण लिएर जनगणना उद्घाटन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ। जनगणना सुरु भएकै दिन उपराष्ट्रपति नन्द किशोर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको विवरण सङ्कलन गर्ने कार्यक्रम छ।

मङ्सिर ९ गतेसम्म हुने जनगणनाका लागि सबै तयारी पूरा भइसकेको विभागले जनाएको छ। विभागका अनुसार जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरिवेक्षक खटाइएको छ। सात वटै प्रदेश र ७७ वटै जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ।

यस्तै धेरै जनसङ्ख्या भएका जिल्लामा एकभन्दा बढी जनगणना कार्यालय खोलिएको छ भने काठमाडौं जिल्लामा ५ वटा जनगणना कार्यालय स्थापना गरिएको छ। ललितपुर,रुपन्देही,सुनसरी,मोरङ,झापा र कैलालीमा जनगणनाका लागि दुई वटा कार्यालय स्थापना गरिएको छ। त्यसै गरी स्थानीय तहमा पनि जनगणना कार्यालय स्थापना गरिएको छ।

केन्द्रदेखि स्थानीय तहसम्म जनगणना सहजीकरणको लागि जनगणना समन्वय तथा सहजीकरण समन्वय समिति गठन गरिएको छ।केन्द्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा जनगणना निर्देशन समिति,प्रदेश स्तरमा प्रमुख सचिवको अध्यक्षतामा,जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा र स्थानीय तहमा पालिका प्रमुखको अध्यक्षतामा जनगणना समिति गठन गरिएको छ।

यस पटक जनगणनामा बेरोजगार युवालाई तालिम दिई परिचालन गरिएको छ। यसअघि शिक्षकलाई मात्र गणकको रूपमा खटाउने गरिएकोमा यस पटक बेरोजगार तथा १२ कक्षा उत्तीर्ण गरेका युवालाई तालिम दिएर खटाइएको विभागका महानिर्देशक श्रेष्ठले बताए। विभागका अनुसार ४४ हजार गणकमा ५० प्रतिशत महिला छन्। यो समाचार नागरिक दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्