यति ओभरसीजको नाममा क्यानडाको अवैध धन्दा



काठमाडौं : लामो समयदेखि अस्तित्वमा नरहेको यति ओभरसीज प्रालिका नाममा आकर्षक तलब र सुविधाको प्रलोभनसहित क्यानडामा वैदेशिक रोजगारीको विज्ञापन देखाएर ठग्ने प्रयास गरेको देखिएको छ । 

वैदेशिक रोजगार कार्यालय ताहाचलको लट नं.२०७९९८ बाट इन्टरनेशनल इमिग्रेसन  भान्कुवर क्यानडाका लागि पूर्व स्वीकृति पाएको भन्दै वैदेशिक रोजगारका लागि प्रकाशित हुने अन्य नियमित विज्ञापनसँग हुबहु मिलाएर उक्त नक्कली विज्ञापन सामाजिक सञ्जालमा प्रकाशित भएको छ ।

विज्ञापनमा फुड प्याकेजिङका ३५ जना, सेक्युरिटी गार्ड १० जना, ट्याक्सी ड्राइभर १० जना र फार्म वर्किङ ६० जना गरी १ सय १५ जनाको आवश्यकता भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखिएको छ । हप्ताको ६ दिन दैनिक ८ घण्टा काम गर्नुपर्ने उल्लेखित विज्ञापनमा दुई वर्षको भिसा अवधि हुने उल्लेख छ । 

विज्ञापनमा ००१९०९३१०१०९८ नं. बाट ह्वाट्सएप मार्फत सम्पर्क गर्न सकिने बताइएको छ । उक्त नक्कली विज्ञापनलाई सुमित ट्राभल्स एण्ड टुर्सले आफ्नो फेसबुक मार्फत प्रचार गरिरहेको देखिएको छ । विज्ञापनमा फाइल प्रोसेसिङका लागि ३ लाख लाग्ने र अन्तिममा थप दश लाख दिनुपर्ने भन्दै कुल १३ लाख रुपैयाँ लाग्ने बताइएको छ । विज्ञापन देखेपछि आकृति घोताने लगायतले काम कन्फर्म हुन्छ ? भन्दै जिज्ञासा राखेका छन् । अन्य धेरैले पनि त्यसमा चासो राखेको देखिएको छ ।

क्यानडाका विभिन्न राज्यहरूमा कृषि मजदुरको माग रहेको भन्दै सामाजिक सञ्जालमा पटक पटक विज्ञापन आउने गरेका छन् । केही समयअघि राजधानीको सामाखुसीस्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिको माथिल्लो तल्लाबाट अवैधानिक रुपमा क्यानडा पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

भारतीय नागरिकले म्यासेन्जर, भाइबर, ह्वाट्सएप, ईमो लगायतका सामाजिक सञ्जालका माध्यमहरूबाट विभिन्न व्यक्तिहरूलाई म्यासेज पठाई क्यानडामा स्थायी आवासीय अनुमतिसहित आकर्षक तलबको रोजगारी दिलाइदिने प्रलोभन दिँदै आएको भए पनि अस्तित्वमा नरहेको नेपालको म्यानपावर कम्पनीको नाम प्रयोग हुनुले ठगीको धन्दामा नेपाली पनि संलग्न रहेको हुनसक्ने आङ्कलन गरिएको छ ।

यति अल कौशर मर्जरमा

करिब दुई दशक लामो समयदेखि सञ्चालित यति ओभरसीज २०७५ भदौ १८ पछि मर्जरमा गएको हो । श्रम इजाजत पत्र नं. ११४२ ०७३÷७४ रहेको अल कौसर ह्यूमेन  रिसोर्स प्रा.लि.सँग मर्ज भएको यति ओभरसीजका सञ्चालक अब्दुल अजिज मिया हुन् । मियाले यति ओभरसीज सञ्चालन गर्दा कतिपय ठाउँमा तिर्नुपर्ने रकम नतिरेको बुझिएको छ । यसबारे मियासँग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन । क्यानडाको अवैध धन्दामा मियाको संलग्नता रहे नरहेको छानबिनको विषय भएको छ । यसबारे मध्यान्हको अनुसन्धान जारी छ । मध्यान्ह दैनिकबाट 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्