विदेशमा रहेका नेपालीले कहिलेदेखि पाउँछन् इ-पासपोर्ट ?



काठमाडौँ । विदेशमा रहेका नेपालीहरूले माघदेखि ई-पासपोर्टको आवेदन दिन पाउने भएका छन् । राष्ट्रिय परिचय प्राप्त गरेकाहरूले मात्र नयाँ विद्युतीय राहदानी पाउने बताइए पनि विदेशमा रहेकाहरूले राष्ट्रिय परिचयपत्र नभए पनि ई-पासपोर्टको लागि सम्बन्धित देशको नेपाली नियोगबाट आवेदन दिन पाउनेछन् । 

ई-पासपोर्ट बनाउन चाहनेले राहदानी विभागको वेबसाइटमार्फत विद्युतीय राहदानीको लागि बुकिङ खुला भइसकेको छ । फारम जति छिटो भर्यो त्यसै अनुसार छिटो पालो आउनेछ । तत्काल पासपोर्ट आवश्यक हुनेहरूले एमआरपी पनि लिन पाउँछन् ।

मङ्सिर १ गतेदेखि काठमाडौँको राहदानी विभागबाट ई-पासपोर्ट परीक्षणको क्रममा छ । हाल राहदानी विभागबाट मात्र ई-पासपोर्टको लागि निवेदन दिन सकिन्छ । मङ्सिर १५ पछि क्रमिक रूपमा जिल्ला प्रशासन कार्यालयबाट तथा तोकिएको इलाका प्रशासन कार्यालयहरूबाट ई-पासपोर्टको आवेदन दिन सकिन्छ ।

ईपासपोर्ट बनाउनको लागि नेपालमा रहेकाहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने बताइएको छ । तर १६ बर्ष मुनिका उमेर भएकाहरूलाई र विदेशबाट निवेदन दिनेहरूलाई राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन । ई-पासपोर्ट निर्माणको लागि आवश्यक भनिएको राष्ट्रिय परिचयपत्र बनाउनको लागि तत्काल समय लागे पनि राष्ट्रिय परिचयपत्र नम्बर तुरुन्त पाउन सकिने र सोही नम्बरको आधारमा राहदानी बनाउन सकिने राहदानी विभागले जनाएको छ ।

विदेशमा रहेकाहरूले आफू सँग रहेको एमआरपी पासपोर्टको म्याद सकिएमा मात्र ई-पासपोर्टको आवेदन दिन सक्छन् अन्यथा एमआरपीले पनि काम गर्छ ।साझा सवालबाट  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्