रोमानियाको कामदार भिसामा नेपालीहरु जान पाउने



काठमाडौं | रोमानियाको कामदार भिसामा नेपालीहरू जान पाउने व्यवस्था लागु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरूले नेपालबाटै भिसा आवेदन गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । 

वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपाली कामदारको भिसा प्रक्रियाका लागि हाल भारतको राजधानी नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेको छ । भिसा प्रक्रियाका लागि लामो समय नयाँ दिल्लीमा बस्नुपर्दा लागतसमेत अनावश्यक रूपमा बढ्ने गरेको छ । 

बिहीबार शिष्टाचार भेटमा आएका नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँगको कुराकानीमा मन्त्री श्रेष्ठले उक्त आग्रह गरेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोका साथै रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरूले भिसा प्रक्रियाका बारेमा छलफल भएको थियो । 

पछिल्लो पाँच वर्षमा  नेपालबाट  ७ हजार ६ सय १८ जना रोमानिया गएका छन् । रोमानियाका लागि गत असोज महिनामा २ सय ९ जना र कात्तिकमा २ सय ५० जनाको श्रम स्विकृति भएको छ ।

मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको सङ्ख्या बढिरहेको भन्दै रोमानियाको रोजगारीप्रति नेपालीको चासो बढेको बताएका थिए । नेपालले रोमानियासँग श्रम सम्झौता गर्न चाहेको र नेपालले पठाएको श्रम सम्झौताको मस्यौदामा रोमानिया सरकारले सकारात्मक प्रतिक्रिया जनाएकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री श्रेष्ठले नेपाल रोमानियासँग आपसी समझदारीमा काम गर्न ईच्छुक रहेको जानकारी दिएका थिए ।

नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । – साझा सबाल बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्