एकै विद्यालयका २८ शिक्षक-विद्यार्थी काेराेना संक्रमण, विद्यालय बन्द



बागलुङ। बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।

दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियाे । विद्यार्थी र शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरिएको खनालले बताए ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् । बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । कोरोना सङ्क्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेकाे स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय सङ्क्रमित रहेकामा बिहीबार मात्रै थप सङ्क्रमित थपिएपछि सङ्ख्या ४१ पुगेको छ । दुई जना सङ्क्रमित धाैलागिरि अस्पतालको आइसोलेशनमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्