आजको राशिफल



वि.सं. २०७४ साल फागुन २१ गते। सोमबार। इश्वी सन् २०१८ मार्च ५ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– चतुर्थी, २७:०५ बजेउप्रान्त पञ्चमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिस्थितिवश चिताएको काम समयमा सम्पादन नहुन सक्छ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। तापनि मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। अध्ययनमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले सहयोगका हात फैलाउनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। तर अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न निकै मिहिनेत गर्नुपर्ला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

महत्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ। तर, बेसुरको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान पर्ला। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

चिताएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। अस्वस्थताले काममा समय दिन नसकिएला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम भने प्रारम्भ गर्न सकिनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्