भिजिट भिसा : वैदेशिक रोजगारको गम्भीर रोग , प्रलोभनमा पहिलो नम्बर



काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाले छिटो कमाउने प्रलोभनमा परेर भिजिट भिसामा वैदेशिक रोजगारमा नजान रोजगार आकाङ्क्षी युवा युवतीलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले शनिवार  आयोजना गरेको ‘भिजिट भिसा: समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनीहरूले उक्त सुझाव दिएका हुन् । वैदेशिक रोजगार विज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या नेपालमा विगतदेखि नै रहेको बताए । उनले सम्बन्धित सरकारी निकायले कडाइ गर्न नसक्दा भिजिट भिसामा गएर अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै समस्याको समाधानका लागि सरकार, व्यवसायी र स्वयं कामदार पनि सतर्क हुनुपर्नेमा जोड दिए । 

कोरोना सङ्क्रमण केही कम भएपछि नेपालबाट भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको र विदेशमा रहेका नेपाली कूटनैतिक नियोगहरू सक्रिय भएमा समस्या समाधान गर्न सहज हुने उनको भनाइ थियो । 

लामो समयदेखि विदेशमा अलपत्र कामदारको उद्धारमा लागेका प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले हाल विभिन्न झुटा प्रलोभन दिएर भिजिट भिसामा युवाहरू खाडीका विभिन्न मुलुकमा लैजाने बढेको बताए । भिजिट भिसाको नाममा विदेश जाने र लैजाने हालको प्रवृत्तिलाई नियन्त्रण गर्न नसके त्यसले भविष्यमा विकराल अवस्था सिर्जना हुने उनको भनाइ थियो  । 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा गैरकानूनीरूपले पठाउने धन्दामा केही म्यानपावर कम्पनीका सञ्चालकको पनि संलग्नता हुन सक्ने सूचना आफूले पाएको भन्दै भिजिट भिसाको धन्दामा गैर आवासीय नेपाली (एनआरएन), उनीहरूका आफन्त र दूतावासमा कार्यरत सरकारी कर्मचारीको समेत मिलेमतो रहेको दाबी गरे । कार्यवाहक अध्यक्ष तामाङले सरकारी कर्मचारीको मिलेमतो र लाचारिपनले भिजिट भिसा मौलाउँदै गएको भन्दै कार्यवाहक अध्यक्ष तामाङले आर्थिक रूपमा असक्षम व्यक्ति भिजिट भिसामा गइरहँदा अध्यागमन विभागले छानबिन गर्न नचाहनु गम्भीर विषय भएको टिप्पणी गरे ।

‘सरकार सुध्रिने हो भने आजैबाट सबै समस्या सल्टिन्छ,’ तामाङले भने, ‘सरकारका कर्मचारीले भिजिट भिसालाई आफ्नो आर्थिक स्वार्थ पूरा गर्ने र कमाउने सोच राखिरहने हो भने यो समस्या सधैँका लागि रहिरहन्छ ।’

ट्राभल एजेन्सी र शैक्षिक कन्सल्टेन्सीहरुले भिजिट भिसामा युवा युवतीलाई आकर्षक रोजगारी भन्दै विदेश पठाई रहेको भए पनि त्यसको सबै दोष म्यानपावर व्यवसायीमाथि थुपारिएको भन्दै का. अध्यक्ष तामाङले पछिल्लो समय युरोपियन मुलुकहरूमा भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको तर सरकारी निकायहरू थाहा नै नपाएको जस्तो बहाना बाजी गरिरहेको दाबी समेत गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्