राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने त्रिविको चेतावनी



काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ। त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी यस्तो चेतावनी दिएको हो।

त्रिविका प्राध्यापक सङ्घ तथा सङ्गठन र कर्मचारी सङ्घ तथा सङ्गठनलगायत राजनीतिक दलका भ्रातृ सङ्गठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशनलगायतका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेको सूचनाका आधारमा सो चेतावनी दिइएको हो। तथ्यांक अनुसार करिब सयको हाराहारीमा शिक्षक र कर्मचारी प्रत्यक्ष रूपमा दलको कुनै न कुनै भूमिकामा रहेको त्रिविको भनाइ छ।

यसअघि नेकपा एमालेको १०औँ महाधिवेशन, नेपाली काँग्रेसको १४औँ महाधिवेशन, राप्रपा नेपालको महाधिवेशन र यही ११ देखि १३ गतेसम्म हुने नेकपा माओवादीको महाधिवेशनको प्रतिनिधि भएको जानकारी पाएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेको हो।

सूचनामा विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम–२०५० को नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिइएको हो। सो सूचनामा कुनै पनि दलको सदस्यता लिई वा नलिई उम्मेदवार बन्न हुँदैन, कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्