उ’ग्रताको जगमा प’कड जमाउने सिके राउतको दा’उ



सिरहा ।काठमाडौँका दीपेशकुमार पौडेल आइतबार छोरीसहित विराटनगरबाट घर फर्किँदै थिए । सिरहाको गोलबजारस्थित मुख्य चोक पुगेपछि सडकभरि हातमा लट्ठी भाटासहित उभिएका मानिससँग जम्काभेट भयो । भिडले उनको प्रदेश ३-०१-०२३ च ८२९७ नम्बरको कारमाथि लट्ठी भाटा बर्साउन थाल्यो । गाडी छेउ लगाउन नपाउँदै सिसा चकनाचुर भयो । गाडीभित्रै रहेकी उनकी छोरी चिच्याउन थालिन् । छोरी सम्हाल्नु कि गाडी जोगाउनु, पौडेल निकै सकसमा परे ।

सडकमा उभिएका गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर सन्तोष राई समक्ष पुगेर घटनाबारे जानकारी गराउँदै उनले सुरक्षा मागे । केही घण्टाको विश्रामपछि सिसा फुटाइएको गाडी चलाएर सुरक्षा इस्कर्टिङमा काठमाडौंतर्फ लाग्दै गर्दा उनले भने, ‘जहाँको भए पनि भिड त भेडै हुँदोरहेछ तर मैले यो नियति भोग्नुमा सुरक्षाकर्मी दोषी हुन् ।

गोलबजारमा लगामविहीन उग्रता देखेपछि सुरक्षाकर्मीले हामीलाई पछाडि नै रोकिदिएको भए आज मसहित अरू थुपै्र मानिसको सम्पत्ति जोगिने थियो’, उनले भने, ‘सुरक्षाकर्मीले लगामविहीन उग्रतालाई निरीह बनेर हेरिदिँदाको मार हामी जस्ताले भोग्नुपर्‍यो । सर्वसाधारणलाई क्षति पुर्‍याएर राज्यलाई सुनाउने कृत्य रोकिनु पर्छ ।’

ना ५ख ५२२ नम्बरको ट्रकका चालक विशाल तिमलसिना उदयपुरको गाईघाट जाँदै थिए । ट्रक गोलबजार नगरपालिकाको चोहर्वा चोक पुगेपछि चारैतिरबाट ढुंगा बर्सिन थाल्यो । गाडी रोकेर अगाडि हेर्दा लाठीभाटासहित मानिसको भिड ट्रकतिर दौडिँदै थियो ।
अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे । एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो । तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो । केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो । प्रहरी आएपछि दौडिँदै आएका तिमलसिना भक्कानिँदै आफ्नो ट्रकमा आगो फुक्नुको कारण सोधिरहेका थिए ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको लगामविहीन उग्रताको सिकार हुन पुगेका यी दुई प्रतिनिधि हुन् । घटनामा थुपै्र सवारीसाधन तोडफोड गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक सवारीसाधनमा सवार यात्रु घाइते समेत भएको प्रहरीले जनाएको छ ।
जनमत पार्टीले आइतबार सिरहामा आमहडताल घोषणा गरेको थियो । सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बीउ केही उच्छृङ्खल व्यक्तिको उक्साहटमा मंगलबार लुटिएको थियो । गाउँपालिकाले लुटपाटमा संलग्नमाथि कारबाहीका लागि प्रशासनलाई गुहार्‍यो ।

प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा स्थानीय मिथलेश यादवलाई पक्राउ गरी आपराधिक उपद्रवसम्बन्धी मुद्दा चलायो । सिरहा प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेका अनुसार गहुँको बीउलगायत सार्वजनिक सम्पत्ति लुटपाटमा संलग्न व्यक्तिलाई बिना कारबाही छोड्नुपर्ने दबाब नमानेपछि जनमत पार्टीका कार्यकर्ताले उग्रता प्रदर्शन गरेका हुन् । नागरिक दैनिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्