सांसदहरूको माग: भिजिट भिसामा कडाइ गरौँ



काठमाडौँ ।   आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भिजिट भिसाको कडाइको सम्बन्धमा सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । 

सांसदहरूले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीहरूले विदेशमा दुःख पाउनु परेको कारण भिजिट भिसामा कडाइ गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै सांसद रामेश्वर राय यादवले विभिन्न चोर बाटोबाट विदेश जाँदा दुःख भोग्नु परेको, भिजिट भिसाको नाममा वा अन्य भिसाको नाममा जाँदा कानुनी व्यवस्थापन राम्रोसँग नभएको बताए । उनले भिजिट भिसा तथा गैर कानुनी तबरले विदेश जाँदा नेपाली युवाहरूले विदेशमा दुःख पाउनु परेको बताए । उनले विदेश जाने कामदारले आफू कुन काममा जाने हो, त्यसको पूर्ण जानकारी पाउनु पर्ने र त्यो विषयमा पोख्त तालिमको व्यवस्थापन गरेर स्किल्ड म्यानपावरको रूपमा मात्रै पठाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । उनले भने ‘यसका लागि कहाँ-कहाँ कानुन संशोधन गर्नुपर्छ, ऐन, नियम तर्जुमा गर्नुपर्छ त्यो गरुम् ।’

त्यस्तै बैठकमा सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राखिन् । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उनको भनाई छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान् कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताए । उनले भने ‘विदेशमा कामदार पठाउँदा डाक्टर, इन्जिनियर, नर्सहरू तयार गरेर, सिकर्मी, डकर्मीहरूलाई तालिम दिएर पठाउनुपर्छ । सातै प्रदेशमा ट्रेनिङ सेन्टर स्थापना गर्न लागिरहेका छौँ । भिजिट भिसा एकदमै गैर कानुनी हिसाबमा गयो । भिजिट भिसामा देखिएको विकृति र विसङ्गतिलाई हटाउनुपर्ने देखियो ।’

सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यस सँग सम्बन्धित सरकारी निकायहरू गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरू बसेर देखिएका विकृति र विसङ्गति हटाउनुपर्ने बताए । उनले यस कामका लागि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समेत अग्रसरता लिनुपर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्