विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री अथक



काठमाडौं। एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरूलाई स्वागत गर्न खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज अथक स्वयम् विमानस्थल पुगेका थिए ।

प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले उपाधि जितेको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्बेकिस्तानलाई फाइनलमा ३–२ ले पराजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो ।

साबिकको विजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो । पुरुष टिम पनि स्वदेश फर्केको छ । विमानस्थलमा प्रतिक्रिया दिँदै मन्त्री गहतराजले टिमका खेलाडीहरूलाई स्वागत गर्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरे ।

महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भए लगत्तै बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले विजेता खेलाडीहरूलाई जनही ५ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै मन्त्री गहतराजले आगामी दिनमा थप जिम्मेवार र लगनशील भएर खेल्न खेलाडीहरूलाई आग्रह समेत गरे ।

स्वागत पछि बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले विजेता खेलाडीहरूलाई नगद राशिले सम्मान गर्ने सरकारको निर्णयले थप हौसला बढाएको बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्