देउखुरीको राप्ती गाउँपालिका क्षेत्रभित्र मेला महोत्सव सञ्चालन गर्न रोक



भालुवाङ २६ पुस । देउखुरीको राप्ती गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र कुनै पनि प्रकारको मेला महोत्सव, भेला, जुलुस सञ्चालन गर्न पूर्ण रूपमा रोक लगाएको छ ।

राप्ती गाउँपालिका स्तरीय सङ्कट व्यवस्थापन समिती (सिसीएमसी) को सोमबार गाउँपालिकाको सभा हल मसुरियामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले विवाह, व्रतबन्ध, धार्मिक कार्यक्रम, भोजभतेर आयोजना गर्दा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न, गराउन सरोकारवालाहरूलाई अनुरोध गर्ने समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले महामारी नियन्त्रण तथा रोकथामका लागि सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गर्ने, गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरी पौष मसान्त भित्र दोस्रो चरणको परीक्षा सम्पन्न गर्न विद्यालयहरूलाई निर्देशन दिने र वडा नम्बर ५ मा रहेको साबिक जनकल्याण प्रावि कालापानी हाल प्रस्तावित १५ सैयाँको सिसहनियाँ आधारभूत अस्पतालमा गाउँपालिकास्तरको कोभिड अस्थाई अस्पताल सञ्चालन गर्ने लगायतको निर्णय गरेको  समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिए ।

समितिका सदस्य तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विषय प्रवेशबाट सुरु भएको बैठकमा समितिका सदस्यहरू इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्ट, गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, २ नम्बर वडाध्यक्ष जगतबहादुर थापा, ३ नम्बर वडाध्यक्ष चन्दर चौधरी, ४ नम्बर वडाध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, ७ नम्बर वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता विद्यासरण चौधरी, ८ नम्बर वडाध्यक्ष गोकणर्बहादुर राना र ९नम्बर वडाध्यक्ष रिमबहादुर सुनारी मगरको उपस्थिति रहेको थियो ।

त्यस्तै बैठकमा नेकपा एमाले राप्ती गाउँपालिका सचिव भरतमणि न्यौपाने, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरी, नेकपा एकीकृत समाजवादी राप्ती गाउँपालिका अध्यक्ष ज्ञानु गौचन, जनता समाजवादी पार्टी नेपाल राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केशबराज खनाल, राप्ती प्रेस मञ्च राप्ती गाउँपालिका अध्यक्ष अर्जुन अधिकारी, राप्ती उद्योग बाणिज्य संघ भालुवाङका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, गाउँपालिकाका सूचना अधिकारी विश्वास विक र विपद् व्यवस्थापन शाखा प्रमुख सुवास भट्टराई, रेडियो राप्ती/राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता र गाउँपालिकाका सञ्चार संयोजक तीर्थराज ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । बैठकको सहर्जीकरण समितिका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्