क्रिश्चियन धर्म प्रचारको उजुरी परेपछि गोरखाका ३ विद्यालय बन्द



गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाका सात वटा वडामा सञ्चालित ‘माउन्टेन चाइल्ड’ नामक एक संस्थाविरुद्ध क्रिश्चियन धर्म प्रचार गरेको गृृहमन्त्रालयमा उजुरी परेपछि ६ महिनादेखि सेवा बन्द गरेको स्थानीयले बताएका छन्। 

संस्थाले चुमनुब्री गाउँपालिका–४ मा सञ्चालन गरेको तीन वटा पूर्वप्राथमिक विद्यालय, एउटा गाउँघर क्लिनिक र सुत्केरी तथा घाइतेको हेलिकोप्टरबाट उद्धार गर्ने कार्यक्रम साउनदेखि बन्द भएको स्थानीय नीमा ग्याल्बो लामाले बताइन्। 

माउन्टेन चाइल्डको सहयोगमा गप जागरण समाजले गप, क्वाक र छाकमा पूर्वप्राथमिक विद्यालय(ईसीडी) सञ्चालन गरेको थियो। गृह मन्त्रालयको निर्देशनमा समाज कल्याण परिषद्ले कार्यक्रम गर्न अनुमति नदिएपछि सबै सेवा बन्द भएको स्थानीयले बताएका छन् । संस्थाले नियमित रूपमा विद्यार्थीलाई दिँदै आएको स्टेसनरी, पोसाक, ओढ्ने, ओछ्याउने भाँडाकुँडा किन्न दिइरहेको रकम पनि बन्द भएको छ। 

 ‘धर्म प्रचार गरेको उजुरी झुटो हो भन्न समाज कल्याण परिषद्मा हामी सबै वडाध्यक्षहरू जाने कार्यक्रममा म पनि सहभागी थिएँ,’ लामाले भने, ‘म आफैँ मुख्य लामा हो, क्रिश्चियन धर्म प्रचार गरेको त केही पनि थाहा पाएको छैन।’ 

नखाएको विष लागेको भन्दै माउन्टेन चाइल्डले आफूहरू स्थानीयवासीको आस्था र विश्वास पाए मात्र अघि बढ्ने बताएको छ । ‘धर्म प्रचार गरेको आरोपले हामी स्तब्ध भएका छौं,’ सो संस्थाका कार्यक्रम संयोजक सुशील रञ्जित भने। 

 अध्यक्ष म स्वयं लामा गुरु हुँ। समुदाय स्तरमा काम गर्ने माउन्टेन चाइल्ड होइन हाम्रो संस्था हो। ऊ त केवल दातृ संस्था मात्र हो। हामी कसरी धर्म प्रचार गर्न दिन्छौँ र ?,’ उनले भने। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्