‘द भ्वाइस किड्स’को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीलाई



काठमाडौँ : हिमालय टिभी एचडीबाट प्रसारण भएको ‘द भ्वाइस किड्स’को पहिलो सिजनको उपाधि टिम प्रमोदबाट जेनिश उप्रेतीले जितेका छन् ।

शुक्रवार र शनिवार बेलुकी ८ बजेबाट यो शोे प्रसारण हुँदै आएको थियो। हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

६ वर्षदेखि १४ बर्ससम्मका बालबालिकाहरूको सहभागिता रहेको यो रियालिटी शोमा कोचको रूपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

‘द भ्वाइस किड्स’ को डिजिटल अडिसनबाट छानिएका प्रतिभाहरू विभिन्न प्रतिस्पर्धामा अब्बल हुँदै उत्कृष्ट ८ मा जेनिस उप्रेती, रुक्शाना लिम्बु, मिन्चामा राई, नुमा राई, सुशनी गुरुङ्ग, अनुजा कडरिया, पासाङ डिकी शेर्पा र सुप्रिम मल्ल ठकुरी फाइनलमा पुगेका थिए ।

डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी भए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका थिए ।

‘द भ्वाइस किड्स’ का विजेता उप्रेतीले ट्रफीसंगै १५ लाख नगद, सीजीबाट ५० हजार बराबरको कोर्षदेखि अन्य धेरै पुरस्कारहरू पाएका छन् ।

द भ्वाइस अफ नेपालको सिनियर तर्फ यसअघि नै ३ सिजन पूरा भइसकेको छ । तर, १४ वर्षमुनिका बालबालिकाको लागि बनाइएको बालबालिका संस्करण ‘द भ्वाइस किड्स’को यो पहिलो सिजन थियो ।

२० भागसम्म चलेको यो शोलाई दर्शकले अत्यधिक माया गरेका थिए । यसैबिच, ‘द भ्वाइस किड्स’ सफलतापूर्वक सम्पन्न भएसँगै हिमालय टीभीले ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको अडिसन मङ्गलवारबाट सुरु हुने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्