उपत्यकामा आज देखि नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ? (सूचीसहित)



काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएयता सङ्क्रमण दर भयावह बन्न थालेपछि काठमाडौं उपत्यकामा मङ्गलवार राति १२ बजेदेखि थप कडाइ गरिएको छ।

उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मङ्गलवार नै २७ बुँदे नयाँ आदेश जारी गरी विभिन्न प्रतिबन्ध लगाएका हुन्। तीन जिल्लाले अलग अलग आदेश जारी गरे पनि बेहोरा एकै छन्।

जारी आदेशअनुसार  आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन्। सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ।

यस्तै, प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ । यसै गरी सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन, मेला महोत्सवहरू नगर्न समेत निर्देशन दिएको छ।

आदेशअनुसार मठ-मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ।

यस्तै सिनेमा हल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्वीमिङ पुल, फुटसल, पटके हाटबजार माघ १५ गतेसम्म सञ्चालन गर्न पाइने छैन। सार्वजनिक सवारीसाधनमा मास्क नलगाउने यात्रुलाई सहचालकले कम्तीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने बताइएको छ।

साथै, सार्वजनिक सवारीका साधनहरूमा नियमित सेनिटाइज गर्नुपर्ने, चालक, सहचालकदेखि बसमा सवार सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ। लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइने गरी आदेश जारी गरिएको छ। सम्भव भए एन्टिजेन परीक्षण समेत गराउन भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्