सोमबारसम्म मौसम पूर्ण रुपमा नखुल्ने, वर्षा र हिमपातको सम्भावना



काठमाडौं ।  आउँदो सोमबारसम्म नै मौसम पूर्ण रूपमा नखुल्ने मौसमविद्ले बताएका छन् । बिहीबार र बुधवार मौसम बदली गराएको प्रणाली शुक्रवार रातिदेखि हट्ने भए पनि शनिवार फेरि अर्को प्रणाली नेपाल प्रवेश गर्न लागेको छ ।

सोही प्रणालीले मौसम पूर्ण रूपमा खुल्न अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आउँदो सोमबारसम्म नै घाम लाग्दै बादल लाग्ने देखिएको छ।

देशका थोरै ठाउँमा भने वर्षा र हिमपात हुने सम्भावना रहेको छ । तर ठुलो वर्षा वा झरीको सम्भावना भने नरहेको उनको भनाइ छ । यसैबिच दिउँसो मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम पनि घटेर चिसो बढेको छ । देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्ति अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको बिहीबारको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

बिहीबार जोमसोमको अधिकतम तापक्रम ८ डिग्री सेल्सियस, जुम्लाको तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस, जिरीको ९ दशमलव ९ डिग्री सेल्सियस लुम्लेको १० डिग्री सेल्सियस, ओखलढुङ्गाको १३ डिग्री सेल्सियस तथा काठमाडौँको अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्