लालच र प्रलोभनमा परेकाहरुले प्रदेश-१ मा गम्भीर अन्तरघात गरे : मौसम



काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका छन् ।

बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ मा गठबन्धनको उम्मेदवारलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन् । यसै सन्दर्भमा मन्त्री आङ्बोले बिहीबार बिहान टिप्पणी गरेका हुन् ।

‘सङ्घीयताप्रति चौतर्फी प्रहार भइरहेको बेला झन हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा, जनता, पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौँ’, उनले फेसबुकमा लेखेका छन् ।

नेता आङ्बोले गठबन्धनका जनप्रतिनिधि लालच र प्रलोभनमा परेर पार्टीलाई घात गरेको भन्दै क्षमा दिन नसिकने गल्तीको रुपमा टिप्पणी गरेका छन् । साथै गम्भीरता पूर्व समीक्षा हुने समेत आङ्बोको भनाई छ । ‘लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ, बढ्नेछ ।’

प्रदेश १ मा गठबन्धनतर्फबाट जनता समाजवादी पार्टीको उम्मेदवार हेमराज राईलाई पराजित गर्दै एमालेका उम्मेदवार ग्याल्जेन शेर्पा विजयी भएका थिए ।

मतभरको आधारमा गठबन्धनले नै जित्ने निश्चित भएता पनि अन्तर्घातका कारण गठबन्धनका उम्मेदवार राई पराजित भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्