मोरङको उखुबारीमा भेटिएको दुवै श वको पहिचान खुल्यो, मृतक एकअर्काका चिनजानकै



मोरङ । मोरङको धनपालथान गाउँपालिका-७ स्थित उखुबारीमा उत्खनन गरेर निकालिएका दुवै श’वको पहिचान खुलेको छ । माघ १३ गते बिहीबार खाल्डोबाट उत्खनन गरिएको श’व सप्तरी घर भएका शम्भु चौधरीको रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँको क्षेत्रपाटी बस्दै आएका चौधरी शम्भुनाथ नगरपालिका–४ का स्थानीय हुन् । माघ १४ मा अर्को खाल्डोमा भेटिएका सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्र कुमार श्रेष्ठसँगै उनी काठमाडौँबाट मोरङ गएका थिए । 

उनीहरू दुवै जना चिनजानकै रहेको र जग्गा कारोबार गर्दै आएको अनौपचारिक सूचना प्रहरीले प्राप्त गरेको छ । उनीहरू दुवैको ‘कनेक्सन’ पनि प्रहरीले खोजिरहेको छ ।  उनीहरू एक महिनाअघि घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उखुबारीमा चौधरीको शव निकालिएको स्थानकै नजिक राजेन्द्रकुमार श्रेष्ठको श’व फेला परेको थियो । प्रहरी अधिकारीहरूका अनुसार उनीहरूको ह’त्या घटनास्थलमै भयो वा अन्यत्र भन्ने खुलेको छैन ।

प्रहरीका अनुसार दुवै जनाको हत्यापछि गाड्ने प्रकृति एउटै थियो । छुट्टाछुट्टै स्थानमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो । बिजुलीको पोल गाड्ने जस्तो खाल्डोमा नुन हालेर गाडिएका दुवैलाई यातनापछि हत्या गरेर उखुबारीमा गाडेको जस्तो देखिएको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीका अनुसार श्रेष्ठको एक महिनाअघिदेखि मोबाइल अफ थियो । तर, उनी मोरङकै एक होटेलमा बसेको खुलेको छ । घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ। एकान्त र उखुबारीको बिचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्